images
images

देशभर सार्वजनिक जग्गामा अतिक्रमण हटाइँदै, काठमाडौँदेखि बुटवलसम्म कहाँ कहाँ चल्यो डोजर

काठमाडौं ।  सरकारले सार्वजनिक जग्गा संरक्षण, नदी किनार व्यवस्थापन र सहरी सौन्दर्यीकरणलाई लक्ष्य गर्दै देशभर अतिक्रमण हटाउने अभियानलाई तीव्र बनाएको छ। यस क्रममा काठमाडौँ महानगरपालिका र बुटवल उपमहानगरपालिकाका विभिन्न स्थानमा अवैध संरचना भत्काउन डोजर परिचालन गरिएको छ।

काठमाडौँमा थापाथली, गैरीगाउँ–सिनामङ्गल, शान्तिनगर तथा कागेश्वरी मनोहरा नगरपालिका अन्तर्गतका गोठाटार बुद्धचोक र मनोहरा टोल क्षेत्रमा रहेका सुकुम्बासी बस्ती तथा अतिक्रमित संरचना हटाइएको छ। महानगर प्रहरीका अनुसार थापाथलीको बस्ती शान्तिपूर्ण रूपमा खाली गरिएको भए पनि अन्य क्षेत्रमा पक्की घर तथा अस्थायी संरचना डोजर प्रयोग गरी हटाइएको हो।

यसै क्रममा मनोहरा खोलाको किनारमा बस्ती हटाउने क्रममा झडपसमेत भएको छ। स्थानीयले ढुङ्गा, इँटा र बोतल प्रहार गर्दा २२ जना सुरक्षाकर्मी घाइते भएका छन्, जसमा नेपाल प्रहरी र सशस्त्र प्रहरीका जवान तथा एक प्रहरी नायब उपरीक्षक समेत घाइते भएको जनाइएको छ।

उपत्यका बाहिर बुटवल उपमहानगरपालिका–४ मा पनि सरकारी जग्गा खाली गराउने अभियान सञ्चालन गरिएको छ। उच्च अदालत तुलसीपुर बुटवल इजलास अगाडिको करिब २ बिघा ५ कठ्ठा १४ धुर क्षेत्रफलमा फैलिएको जग्गामा बनेका चिया पसल र रेस्टुरेन्टहरू हटाइएका छन्।

यसैबीच पोखराको फेवाताल किनारमा अतिक्रमण नियन्त्रणका लागि पोखरा महानगरपालिकाले ३५ दिने सूचना जारी गरेको छ। यसले आगामी दिनमा पोखरामा पनि अभियान विस्तार हुने संकेत गरेको छ।

प्रधानमन्त्रीको सचिवालयका अनुसार हालसम्म २१४ सुकुम्बासी परिवार सरकारको सम्पर्कमा आएका छन्। उनीहरूलाई तत्कालका लागि होटलमा बसोबास र खानपानको व्यवस्था गरिएको छ। सरकारले अभियानलाई चरणबद्ध रूपमा अघि बढाउँदै जोखिमयुक्त सार्वजनिक जग्गा खाली गराउने जनाएको छ।

प्रतिक्रिया दिनुहोस्