images
images

तिहारको चौथो दिन आज गाई, गोरु र आत्मपूजाको उत्सव

काठमाडौं : कार्तिक शुक्ल प्रतिपदा अर्थात् तिहारको चौथो दिन आज देशभर गाई, गोरु र कृषकको पूजा गरी मीठा परिकार खान दिँदै मनाइँदै छ। वैदिक सनातन परम्पराअनुसार गाईलाई पवित्र माताको रूपमा सम्मान गर्ने चलन प्राचीन कालदेखि रहिआएको हो। गाईले दिने दूध पौष्टिक र जीवनदायी हुने भएकाले उनलाई ‘गौमाता’ भनिन्छ।

धार्मिक मान्यताअनुसार गाईमा रहेको जुरोले सूर्य र चन्द्रमाबाट ऊर्जा ग्रहण गरी दूध, गहुँत र गोबरमार्फत मानिसमा शक्ति प्रवाह गर्छ। गाईको पूजा गरी मीठा परिकार खान दिँदा शुद्धता र समृद्धि प्राप्त हुने विश्वास रहँदै आएको छ। धर्मशास्त्रविद् प्रा. तोयराज नेपालका अनुसार कतिपय ठाउँमा औँसीकै दिन गाई पूजा गर्ने चलन भए पनि शास्त्रीय रूपमा औँसी सकिएर प्रतिपदाको दिन पूजा गर्नुपर्ने मान्यता छ।

हिन्दू धर्ममा गाईदानको पनि विशेष महत्त्व छ। पछिल्लो समय गाईको अभावमा प्रतीकस्वरूप पैसा राखी सङ्कल्प गर्ने चलन बढेको छ। गाईलाई राष्ट्रिय जनावरको रूपमा सम्मान गरिएको छ। धार्मिक विश्वासअनुसार साउन शुक्ल पूर्णिमामा बाँधिएको रक्षाबन्धन आजको दिन गाईको पुच्छरमा बाँधिदिए मृत्युपश्चात् गाईले वैतरणी नदी तारिदिने विश्वास छ।

आजको दिनमा वर्षभर खेत जोतेर सेवा गर्ने गोरुलाई पनि पूजा गरी मीठा खानेकुरा खान दिने परम्परा छ। गोरुलाई महादेवको वाहन साँढेको प्रतीकका रूपमा पूजिन्छ। यसैगरी वर्षभर कृषिकर्ममा खटिने किसानहरूलाई पनि सम्मानपूर्वक मिष्ठान्न परिकार खुवाइन्छ। यही कारणले यो दिनलाई ‘हलि तिहार’ पनि भनिन्छ।

आजै आँगनमा गाईको गोबरले पर्वत बनाएर गोवर्द्धन पर्वत मानी पूजा गर्ने परम्परा पनि छ। भगवान श्रीकृष्णले द्वापर युगमा गोकुलवासीहरूलाई मुसलधारे वर्षाबाट जोगाउन गोवर्द्धन पर्वत उचालेको सम्झनामा यो पूजा गरिन्छ। नेपाल पञ्चाङ निर्णायक विकास समितिका अनुसार गोवर्द्धन पूजा सूर्योदय भएका दिन नै गर्नुपर्ने विधि रहेको छ।

यस्तै आज नेवार समुदायमा ‘म्हः पूजा’ अर्थात् आत्मपूजा पनि मनाइँदैछ। आत्मा नै जीवनको मूल स्रोत र शक्ति भएकाले आत्म सन्तुष्ट र प्रसन्न राख्न यस पर्वको परम्परा रहेको धर्मशास्त्रविद् प्रा. डा. रामचन्द्र गौतम बताउँछन्। आत्मपूजा गर्दा देवी–देवता प्रसन्न भई आशीर्वाद दिन्छन् र जीवन अर्थपूर्ण हुने धार्मिक विश्वास छ। यो पर्व काठमाडौँ, ललितपुर, भक्तपुर, बनेपा, पनौती, धुलिखेल र चौतारालगायत नेवार समुदायका बस्तीहरूमा उल्लासपूर्वक मनाइँदैछ।

प्रतिक्रिया दिनुहोस्