काठमाडौँ । नेपाल विद्युत् प्राधिकरणले लोडसेडिङको समयमा डेडिकेटेड र ट्रंक लाइनमार्फत विद्युत् उपयोग गरेर प्रिमियम महसुल नतिरेका उद्योगहरूको लाइन काट्न सुरु गरेको छ। प्राधिकरणले मंगलबार बिहान जगदम्बा स्टील, रिलायन्स स्पिनिङ मिल्स, शिवम् सिमेन्ट, घोराही सिमेन्ट, अर्घाखाँची सिमेन्ट इन्डस्ट्रीज र त्रिवेणी स्पिनिङ मिल्सको विद्युत् आपूर्ति बन्द गरेको हो।
यी उद्योगहरूको बक्यौता रकम ठूलो परिमाणमा पुगेको प्राधिकरणले जनाएको छ। जगदम्बा स्टीलले १ अर्ब ६० करोड, रिलायन्सले ७५ करोड ३७ लाख, शिवम् सिमेन्टले ७७ करोड ८८ लाख, घोराही सिमेन्टले ५० करोड ८५ लाख, अर्घाखाँची सिमेन्टले ४४ करोड ८४ लाख र त्रिवेणी स्पिनिङ मिल्सले ३२ करोड १० लाख रुपैयाँ तिर्न बाँकी रहेको छ।
यी रकमहरू २०७२ माघदेखि २०७५ वैशाख सम्मको डेडिकेटेड र ट्रंक लाइन उपयोगबापतको अतिरिक्त महसुल हुन्। नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक मनोज सिलवालका अनुसार तिहारको सार्वजनिक बिदामा पनि बक्यौता तिर्न सक्ने गरी काउन्टर सञ्चालनमा राखिएको छ।
उनका अनुसार, उद्योगहरूले किस्ताबन्दीको सुविधा लिएर पहिलो किस्ता बुझाएमा जुनसुकै समयमा पनि काटिएको लाइन पुनःजोडिनेछ।








प्रतिक्रिया दिनुहोस्