काठमाडौँ । आज देशभर तिहारको पहिलो दिन अर्थात् काग तिहार धुमधामका साथ मनाइँदै छ। प्रत्येक वर्ष कार्तिक कृष्ण त्रयोदशीका दिनबाट सुरु हुने पाँचदिने तिहार पर्व आज काग तिहारसहित प्रारम्भ भएको हो। आज आइतबार बिहान सूर्योदयको समयमा त्रयोदशी तिथि परेकाले शास्त्रसम्मत रूपमा काग तिहार मनाइँदै छ। तिहारलाई यमपञ्चक पनि भनिन्छ। यस पर्वका पाँच दिन क्रमशः काग तिहार, कुकुर तिहार, लक्ष्मीपूजा, गाई तिहार र भाइटिकाका रूपमा मनाइन्छ। वैदिक सनातन हिन्दू परम्परा अनुसार कागलाई यमराजको दूत र सन्देशवाहक मानिन्छ। त्यसैले आजको दिन बिहानै कागलाई आदरपूर्वक पूजा गरी दही भात तथा विविध परिकार अर्पण गर्ने चलन छ।
‘काकेन दधि भक्षितम्’ भन्ने शास्त्रीय भनाइ अनुसार कागलाई दही भात खुवाएमा उसले यमराज समक्ष शुभ सन्देश पुर्याउँछ भन्ने धार्मिक विश्वास छ। कागलाई अर्पण नगरी आफूले मात्र खाने व्यक्ति पापकर्मी हुने मान्यता पनि छ। त्यसैले आज कागलाई प्रसन्न पार्दै यमदण्डरूपी संकटबाट मुक्ति पाउन प्रार्थना गरिन्छ। यो पर्वले धार्मिक मात्र होइन, मानिस, जनावर र पक्षीबीचको आत्मीय सम्बन्ध, कृतज्ञता र प्रकृतिप्रतिको सम्मानको सन्देश पनि दिन्छ।
धर्मशास्त्र अनुसार यमराजले सबै जीवको जन्म–मृत्युको लेखाजोखा राख्ने गर्छन् र त्यो विवरण पृथ्वीबाट यमराजसम्म पु-र्याउने कार्य कागले गर्छ भन्ने विश्वास छ। छिटो गतिमा सन्देश पुर्याउने क्षमताका कारण कागलाई यमराजको दूत मानिएको हो।
त्यस्तै, वैदिक किंवदन्ती अनुसार दानी असुरराज बलिलाई भगवान् विष्णुले वामन अवतार धारण गरी पृथ्वी, अन्तरिक्ष र शिर मागेपछि प्रसन्न भई वर्षमा पाँच दिन कार्तिक कृष्ण त्रयोदशीदेखि कार्तिक शुक्ल द्वितीयासम्म पृथ्वीको शासन गर्ने अधिकार प्रदान गरेको विश्वास छ। यही अवधिमा तिहार पर्व मनाइन्छ।
आजको दिन काठमाडौँस्थित कागेश्वरी मनोहरा महादेव मन्दिरमा विशेष पूजा आराधना भइरहेको छ। त्यस्तै हनुमानढोकास्थित कागेश्वरी मन्दिरमा पनि कागको दर्शन र पूजा गर्न भक्तजनको भीड लागेको छ।
प्रतिक्रिया दिनुहोस्