images
images

राष्ट्रपति पौडेल : लोकतन्त्र र संविधानको रक्षाका लागि निर्वाचन नै एक मात्र विकल्प

राष्ट्रपति रामचन्द्र पौडेलले देश, जनता, लोकतन्त्र र संविधानको रक्षा गर्न आगामी प्रतिनिधिसभा निर्वाचन नै एक मात्र विकल्प भएको बताएका छन्। उनले फागुन २१ गतेका लागि तोकिएको निर्वाचनमा सबै राजनीतिक दललाई केन्द्रित हुन आग्रह गरेका छन्। शुक्रबार शीतल निवासमा आह्वान गरिएको सर्वदलीय बैठकमा राष्ट्रपति पौडेलले शान्ति–सुरक्षाको पक्का प्रबन्ध गरी निष्पक्ष र भयरहित वातावरणमा निर्वाचन सम्पन्न गर्ने विश्वास आम नागरिकमा जगाउन सरकारलाई सुझाव दिएका थिए।

राष्ट्रपतिका प्रेस सल्लाहकार किरण पोखरेलका अनुसार, राष्ट्रपति पौडेलले लोकतन्त्रको संरक्षणका लागि सबै दल एकजुट भएर निर्वाचन सम्पन्न गराउनुपर्नेमा जोड दिएका छन्। उनले राजनीतिक दलहरूमा कुनै अस्पष्टता वा द्विविधा भए खुलेर छलफल गर्न आग्रह गर्दै निर्वाचनबाहेक अन्य विकल्प खोज्न थालिए देश थप समस्यामा पर्न सक्ने चेतावनी पनि दिए।

बैठकमा सहभागी दलका नेताहरूले लोकतन्त्रमा आस्था राख्ने पार्टीहरू सधैं निर्वाचनका पक्षमा रहेको बताए। तर, हालको सुरक्षा व्यवस्थाका कारण निष्पक्ष र स्वतन्त्र वातावरणमा निर्वाचन सम्भव हुनेबारे केही शंका रहेको उल्लेख गर्दै सरकारले यो संसय हटाउन पहल गर्नुपर्नेमा जोड दिएका थिए।

अन्तरिम सरकारकी प्रधानमन्त्री सुशीला कार्कीले दलहरूको सहकार्यबिना निर्वाचन सम्भव नहुने प्रष्ट पार्दै शान्ति र सुरक्षाको सुनिश्चिततासहित स्वतन्त्र, निष्पक्ष र भयरहित निर्वाचन गराउने सरकारको प्रतिबद्धता दोहोराइन्। उनले जेन–जी पुस्ता सबैको साझा सन्तान भएको भन्दै उनीहरूको असन्तुष्टि बुझेर परिवर्तनलाई आत्मसात गर्दै अघि बढ्न दलहरूलाई आह्वान गरिन्।

बैठकमा नेपाली कांग्रेस, नेकपा (एमाले), नेकपा (माओवादी केन्द्र), नेकपा (एकीकृत समाजवादी), राष्ट्रिय स्वतन्त्र पार्टी, राष्ट्रिय प्रजातन्त्र पार्टी, जनता समाजवादी पार्टी, जसपा नेपाल, जनमत पार्टी, लोकतान्त्रिक समाजवादी पार्टी, नागरिक उन्मुक्ति पार्टी र नेपाल मजदुर किसान पार्टीका नेताहरू सहभागी थिए।

प्रतिक्रिया दिनुहोस्