images
images

मनसुन हट्दै जाँदा काठमाडौंको न्यूनतम तापक्रम १७ डिग्रीमा झर्‍यो

आज (बिहीबार) काठमाडौं उपत्यकाको न्यूनतम तापक्रम झनै घटेर १७.४ डिग्री सेल्सियसमा पुगेको मौसम पूर्वानुमान महाशाखाका मौसमविद् सरोज पुडासैनीले जानकारी दिए। बिहान ५:४५ बजे गरिएको मापनअनुसार यो तापक्रम हिजोको भन्दा ०.४ डिग्रीले घटेको हो। हिजो बुधबार न्यूनतम तापक्रम १७.८ डिग्री सेल्सियस थियो।

यद्यपि आजको आधिकारिक न्यूनतम तापक्रम बिहान ८:४५ बजे सार्वजनिक हुने महाशाखाले जनाएको छ। त्यतिबेला अहिलेको भन्दा तापक्रम केही घट्न सक्ने सम्भावना रहेको पनि मौसमविद्हरूले बताएका छन्।

अक्टोबर सुरु हुनुअघि उपत्यकाको न्यूनतम तापक्रम २१ डिग्री सेल्सियसको हाराहारीमा थियो। मौसम महाशाखाले दैनिक रूपमा देशभरका विभिन्न स्थानमा न्यूनतम र अधिकतम तापक्रम मापन गर्छ—न्यूनतम तापक्रम बिहान ८:४५ बजे र अधिकतम तापक्रम साँझ ५:४५ बजे।

मनसुन क्रमशः हट्दै जाँदा पश्चिमी वायु सक्रिय भएसँगै देशभर मौसम क्रमशः चिसिँदै गएको छ। पश्चिमी वायुले वर्षासँगै हिमपात पनि ल्याउने भएकाले हिमाली क्षेत्रमा हिउँ पर्न थालेको मौसमविद्हरूले जनाएका छन्।

अक्टोबर ६ (असोज २०) सम्ममा सुदूरपश्चिम, कर्णाली र लुम्बिनी प्रदेशका पश्चिमी क्षेत्रका धेरै स्थानबाट मनसुन हटिसकेको छ भने गण्डकी प्रदेशको पश्चिमी भागमा पनि यसको प्रभाव समाप्त भएको छ। हाल पश्चिमी वायु ती क्षेत्रहरूमा सक्रिय भइसकेको छ।

तर, लुम्बिनी र गण्डकीका पूर्वी क्षेत्र, बागमती, मधेस र कोशी प्रदेशमा भने अझै कमजोर मनसुनको प्रभाव बाँकी रहेको छ।

मौसमविद्हरूका अनुसार नेपालमा मौसमलाई चार भागमा वर्गीकरण गरिएको छ—प्री–मनसुन, मनसुन, पोस्ट–मनसुन र विन्टर।
चार महिनासम्म (जुनदेखि सेप्टेम्बरसम्म) रहने मनसुन सिजन हाल समाप्त हुने क्रममा छ भने अब सुरु हुन लाग्दैछ पोस्ट–मनसुन, जुन अक्टोबर र नोभेम्बरसम्म रहन्छ। त्यसपछि डिसेम्बरदेखि फेब्रुअरीसम्म विन्टर सिजन रहनेछ र मार्चदेखि मेसम्म प्री–मनसुन अवधि रहनेछ।

प्रतिक्रिया दिनुहोस्