मनसुन कमजोर बन्दै गएसँगै देशभर चिसो बढ्ने क्रम सुरु भएको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। महाशाखाका मौसमविद् रोजन लामिछानेका अनुसार हाल मनसुनी वायुको प्रभाव न्यून हुँदै गएको र त्यसको सट्टा पश्चिमी वायु क्रमशः सक्रिय हुन थालेपछि तापक्रम घट्ने प्रक्रिया सुरु भएको हो।
सोमबार महाशाखाले गण्डकी प्रदेशदेखि देशका पश्चिमी भूभागसम्म मनसुन समाप्त भएको औपचारिक जानकारी दिएको थियो। महाशाखाका अनुसार अहिले सुदूरपश्चिम र कर्णाली प्रदेशका अधिकांश स्थानहरूमा, साथै लुम्बिनी प्रदेशको पश्चिमी भाग र गण्डकी प्रदेशका केही भागमा पश्चिमी वायुको प्रभाव छ।
बाँकी प्रदेशहरूमा भने अझै कमजोर मनसुनी वायुको प्रभाव विद्यमान छ।मंगलबार नेपालखबरसँग कुरा गर्दै मौसमविद् लामिछानेले भने, “अहिले बिहानपख हल्का चिसो महसुस हुन थालेको छ। दिउँसो घाम लाग्ने भएकाले तापक्रम घटेको धेरै अनुभूति नहुने भए पनि बिहानको समयमा चिसोपन बढ्दै गएको छ।”
उनका अनुसार अक्टोबर सुरु भएयता काठमाडौँ उपत्यकाको न्यूनतम तापक्रम औसत १८ डिग्री सेल्सियसमा झरेको छ, जुन यसअघि २१ डिग्री सेल्सियसको आसपास थियो। “आगामी दिनहरूमा तापक्रम क्रमशः घट्दै जाने सम्भावना छ,” लामिछानेले थपे।












प्रतिक्रिया दिनुहोस्