images
images

अविरल वर्षाबाट तटबन्ध र संरचनामा १० करोडभन्दा बढी क्षति

काठमाडौं । असोज १७ र १८ गतेको अविरल वर्षापछि देशका विभिन्न नदीनालामा आएको बाढीले ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयअन्तर्गतका तटबन्ध र संरचनामा ठूलो क्षति पुर्‍याएको प्रारम्भिक तथ्यांक सार्वजनिक गरिएको छ। आइतबार पत्रकार सम्मेलनमार्फत मन्त्री कुलमान घिसिङले एक हजार ५०० मिटर तटबन्ध कटान हुँदा करिब १० करोड रुपैयाँ बराबरको क्षति भएको जानकारी दिए।

झापामा कन्काइ नदीले गौरीगञ्ज–२ मा हुलाकी राजमार्ग छेउको करिब २०० मिटर तटबन्ध कटान गरी होक्लबारी क्षेत्रमा ११४ घर डुबानमा परेका छन् र करिब ५०० हेक्टरमा रहेको धानबाली नष्ट भएको छ। झापा गाउँपालिका–२ को कुवाडी क्षेत्रमा पनि २०० मिटर तटबन्ध कटान हुँदा ७५ लाख रुपैयाँ बराबरको क्षति भएको छ। मेची नदीले विभिन्न ठाउँमा बनाइएका स्परमा करिब ५० लाख रुपैयाँ बराबरको नोक्सानी गरेको छ भने विराटनगरस्थित केशलिया नदीमा आएको डुबानका कारण ७५ परिवारलाई स्थानान्तरण गर्नुपरेको छ। सिरहाको कमला नदीको पूर्वी किनारपट्टि पटेरुवा क्षेत्रमा रहेको तटबन्धमा करिब २५ लाख रुपैयाँ बराबरको क्षति भएको मन्त्रीले बताए।

रौतहटमा लालबकैया नदीले दायाँ किनारतर्फ करिब ६० मिटर तटबन्ध बगाउँदा १०० हेक्टर धानबाली डुबानमा परेको छ। बौदीमाई गाउँमा थप १२० मिटर तटबन्ध बगाउँदा करिब २०० हेक्टर धान खेत र घरगोठ डुबानमा परेका छन् र क्षति करिब ६० लाख रुपैयाँ पुगेको छ। महोत्तरीमा रातो नदीले तटबन्ध बगाउँदा मात्रै करिब आठ करोड रुपैयाँ बराबरको नोक्सानी भएको बताइएको छ। यद्यपि सिंचाइ प्रणालीमा ठूलो क्षति हुन नदिन हेड रेगुलेटर, मूल नहर र शाखा नहरका गेट पहिल्यै खोलिएको मन्त्री घिसिङले स्पष्ट पारे।

सुनकोशी नदीमा आएको बाढीले सुनकोशी–मरिन डाइभर्सन बहुउद्देश्यीय आयोजना अन्तर्गतको निर्माणाधीन बाँधस्थललाई डुबाएको छ। सडक सञ्जालमा पनि वर्षाले असर पार्दा काठमाडौँदेखि पश्चिमतर्फका मुख्य मार्गहरू प्रभावित भएका छन्। मन्त्री घिसिङका अनुसार प्रभावित सडक तत्कालै खोल्ने कार्य तीव्र गतिमा अघि बढाइँदैछ र मर्मत सम्भारका लागि जनशक्ति तथा उपकरण परिचालन गरिएको छ। पूर्वी प्रदेशहरूमा अझै वर्षाको क्रम जारी रहेकाले पानी घटेपछि मात्र सडकमा सुधारको पूर्ण काम सुरु गरिने उनको भनाइ छ।

जल तथा मौसम विज्ञान विभागले सोमबारदेखि वर्षा क्रमशः कम हुँदै जाने जनाएको छ। शुक्रबारदेखि आइतबारसम्मको लगातारको वर्षा र बाढीपहिरोका कारण यातायात अवरुद्ध र आवागमनमा ठूलो असर परेको मन्त्रीले बताए। “प्रभावित क्षेत्रमा दिनरात मर्मत कार्य भइरहेको छ”, उनले भने, “प्रमुख राजमार्गका अवरुद्ध खण्डमा पनि आवश्यक उपकरण र जनशक्ति परिचालन गरिएको छ।”

मन्त्री घिसिङका अनुसार सरकारको पूर्वतयारीका कारण ठूलो मानवीय क्षति हुन पाएन। सडक विभागका महानिर्देशक विजय जैसीले काठमाडौँ–पोखरा जाने पृथ्वी राजमार्ग, नारायणगढ–मुग्लिन मार्ग सञ्चालनमै रहेको जानकारी दिए। बिपी राजमार्गको भकुण्डेबेंसी–नेपालथोक खण्ड र मेची राजमार्ग अवरुद्ध हटाउने कार्यमा चाँडै प्रगति हुने बताए। उनका अनुसार सडक विभागले स्थानीय प्रशासन, नेपाल प्रहरी, सशस्त्र प्रहरी, ट्राफिक प्रहरी र स्थानीय तहसँग समन्वय गरी मर्मत तथा सडक खोल्ने कामलाई तीव्रता दिएको छ।

प्रतिक्रिया दिनुहोस्