वीरगञ्ज – वीरगञ्ज भन्सार कार्यालयले चालु आर्थिक वर्षका पहिलो दुई महिनामा ३९ अर्ब १५ करोड ५५ लाख रुपैयाँ राजस्व संकलन गरेको छ। भन्सार विभागले यो अवधिसम्म कार्यालयलाई ४३ अर्ब ३ करोड रुपैयाँ संकलन गर्ने लक्ष्य तोकेकोमा ९०.९९ प्रतिशत मात्र हासिल भएको हो।
भन्सार प्रशासक विष्णुप्रसाद ज्ञवालीका अनुसार भदौ महिनामा प्रतिकूल परिस्थितिका बीच पनि राजस्व संकलन उत्साहजनक रह्यो। उनले भने, “साउन महिनामा १८ अर्ब ४४ करोड संकलन गरिएको थियो। भदौमा जेनजी समूहको आन्दोलनले एक दिन राजस्व ठप्प पारे पनि समग्र संकलनमा वृद्धि भएको छ। मासिक लक्ष्यको ९३.९७ प्रतिशत संकलन गर्न सफल भएका छौँ।”
भदौ महिनामा मात्रै केही दिनमा उल्लेख्य राजस्व संकलन भएको कार्यालयले जनाएको छ। भदौ १२ गते २ अर्ब ३७ करोड, भदौ १७ गते १ अर्ब ९२ करोड, भदौ २८ गते १ अर्ब ७१ करोड र भदौ ३१ गते १ अर्ब ११ करोड संकलन भएको छ।
कार्यालयले साउन महिनामा १८ अर्ब ४४ करोड र भदौ महिनामा २० अर्ब १२ करोड रुपैयाँ राजस्व संकलन गरेको तथ्यांक सार्वजनिक गरेको छ।








प्रतिक्रिया दिनुहोस्