गत असार पहिलो सातादेखि बाढीपहिरोको उच्च जोखिमका कारण रातिको समयमा राजमार्गमा सवारीसाधन सञ्चालनमा रोक लगाइएको थियो। काभ्रेपलाञ्चोकको धुलिखेलदेखि सिन्धुलीको नेपालथोकसम्मको खण्डमा राति १२ घण्टा सवारी सञ्चालनमा प्रतिबन्ध लगाइएको थियो। पछिल्लो पटक भदौ १६ गतेदेखि थप १५ दिनका लागि रोक बढाइएको थियो।
सहायक प्रमुख जिल्ला अधिकारी सुदर्शन श्रेष्ठका अनुसार काभ्रेभञ्ज्याङदेखि सिन्धुलीको खुर्कोट खण्डसम्मका विभिन्न स्थानमा जोखिम देखिएकाले विगतमा रोक लगाउनुपरेको थियो। काठमाडौँतर्फ जाने सवारीलाई काभ्रेभञ्ज्याङ र काठमाडौँबाट आउने सवारीलाई नेपालथोकमा रोक्ने व्यवस्था गरिएको थियो। यसअघि काभ्रेपलाञ्चोक, सिन्धुली र रामेछापका सुरक्षा निकायबीचको समन्वय समितिले असार ७ गतेदेखि साँझ ६ः३० बजेदेखि बिहान ५ बजे र साउन महिनाभर साँझ ५ बजेदेखि बिहान ५ बजेसम्म सवारी सञ्चालनमा रोक लगाउने निर्णय गरेको थियो।
गत वर्ष असोजमा आएको बाढीपहिरोले काभ्रेपलाञ्चोकको चौकीडाँडादेखि सिन्धुलीको वर्षेखोलासम्म आठ किलोमिटर सडक बगाएपछि अस्थायी रूपमा यातायात सञ्चालन गरिएको थियो। कुल १६० किमी लम्बाइको राजमार्गअन्तर्गत खुर्कोट–नेपालथोक ३४ किमी र नेपालथोक–धुलिखेल ५० किमीसहितका खण्डमा ठूलो क्षति पुगेको थियो।
कार्यालयले क्षतिग्रस्त सडकलाई स्थायी रूपमा पुनर्निर्माण गर्न चार खण्डमा ठेक्का प्रक्रिया अगाडि बढाएको जनाएको छ। पूर्वी नेपाललाई छोटो दूरीमार्फत राजधानीसँग जोड्ने बिपी राजमार्ग दैनिक हजारौँ सवारीसाधनको मुख्य मार्ग हो।
प्रतिक्रिया दिनुहोस्