images
images

सगरमाथासहित हिमाल आरोहणमा नयाँ शुल्क दर लागू

काठमाडौँ : सगरमाथासहितका हिमाल आरोहणमा नयाँ शुल्क लागू भएको छ। पर्यटन विभागले सोमबारदेखि कार्यान्वयनमा ल्याएको संशोधित दरअनुसार अब आरोहीहरूले उचाइ र यामअनुसार फरक–फरक शुल्क तिर्नुपर्ने भएको हो।

विभागका निर्देशक हिमाल गौतमका अनुसार पर्वतारोहणसम्बन्धी (छैटौँ संशोधन) नियमावली, २०५९ बमोजिम नयाँ शुल्क दर लागू गरिएको हो। उनले राजस्व बढाउने वा भीड नियन्त्रण गर्ने उद्देश्य नभई हिमाल आरोहणलाई व्यवस्थित बनाउन एक दशकपछि शुल्क दर संशोधन गरिएको बताए।

यसअघि २०१५ जनवरी १ बाट लागू भएको दरलाई परिमार्जन गर्दै नयाँ दर तोकिएको छ। नयाँ व्यवस्थाअनुसार विदेशी आरोहीले वसन्त ऋतुमा सगरमाथाको दक्षिणपूर्वी मार्गबाट आरोहण गर्न १५ हजार अमेरिकी डलर बुझाउनुपर्नेछ। शरद ऋतुमा शुल्क ७ हजार ५०० डलर र शिशिर तथा वर्षायाममा ३ हजार ७५० डलर तोकिएको छ। हाल शरद ऋतुमा ५ हजार ५०० र शिशिर/वर्षामा २ हजार ५०० डलर लिँदै आएको थियो।

दक्षिणपूर्वी मार्गबाहेक अन्य बाटो प्रयोग गर्ने विदेशीका लागि वसन्त ऋतुमा १० हजार, शरदमा ५ हजार र शिशिर/वर्षामा २ हजार ५०० डलर तिर्नुपर्नेछ।

नेपाली आरोहीका लागि सगरमाथा आरोहण शुल्क वसन्तमा १ लाख ५० हजार, शरदमा ७५ हजार र अन्य याममा ३५ हजार रुपियाँ तोकिएको छ।

सगरमाथाबाहेकका हिमालमा पनि शुल्क वृद्धि गरिएको छ।

  • आठ हजार मिटरभन्दा माथि: वसन्तमा ३ हजार, शरदमा १ हजार ५००, अन्य याममा ७५० डलर (पहिले १,८००, ९०० र ४५० डलर)।

  • ७,५०१–८,००० मिटर: वसन्तमा १ हजार, शरदमा ५००, अन्य याममा २५० डलर (पहिले ६००, ३०० र १५० डलर)।

  • ७,०००–७,५०० मिटर: वसन्तमा ८००, शरदमा ४००, अन्य याममा २०० डलर (पहिले ५००, २५० र १२५ डलर)।

  • ६,५०१–६,९९९ मिटर: वसन्तमा ५००, शरदमा २५०, अन्य याममा २०० डलर (पहिले ४००, २०० र १०० डलर)।

  • ६,५०० मिटरभन्दा तल: वसन्तमा ३५०, शरदमा १७५, अन्य याममा १८५ डलर (पहिले २५०, १२५ र ७० डलर)।

नयाँ दर लागू भएपछि विदेशी र नेपाली दुवै आरोहीका लागि हिमाल आरोहण खर्चमा उल्लेखनीय वृद्धि भएको विभागले जनाएको छ।

प्रतिक्रिया दिनुहोस्