काभ्रे जिल्लाको धुलिखेल नगरपालिका–६ मा जन्मिएकी सुना परियारको बाल्यकाल साधारण बित्यो । दलित परिवारमा जन्मनुको अर्थ सामान्यतया विभेदको बोझ, अवसरको कमी र संघर्षको लामो यात्रा हो भन्ने मानिन्छ। तर, सुनाले त्यो भोग्नु परेन । उनका बाबुआमाले एउटा कुरा भने अटल राखे “छोरीलाई पढाउनुपर्छ, अगाडी बढाउनुपर्छ ।”
सानैदेखि पढाइमा अब्बल सुना विद्यालयमा मात्र होइन, सामाजिक गतिविधिमा पनि सक्रिय रहिन् । काभ्रे जिल्ला भरी नै स्कुलको होनाहार विद्यार्थीका रुपमा चिनिन्थिन् । २०५८ सालमा, अझै किशोरी उमेरमै, उनले नेविसंघमा सक्रियता जनाइन् । त्यस वर्ष नै दलित संघको जिल्ला अध्यक्षको जिम्मेवारी उनको काँधमा आयो । एसएलसी सकेर काभ्रे क्याम्पसमा भर्ना हुँदा उनी नेविसंघको केन्द्रीय सदस्य भइसकेकी थिइन् । उनी दलित संघको केन्द्रीय सदस्य पनि भइसकिन थिइन् ।
राजनीति मात्र होइन, उनले खेलकुदमा पनि पाइला राखिन् । फुटबलप्रतिको लगाव र नेतृत्व क्षमताका कारण उनी देशकै पहिलो महिला फुटबल संघको जिल्ला अध्यक्ष बनिन् । काभ्रेमै शक्तिशाली प्रतियोगिताहरू आयोजना गर्दै उनले छुट्टै पहिचान कमाइन् ।
तर, जीवनको गति कहिलेकाहीँ अप्रत्याशित मोड लिन्छ । विए पढ्दापढ्दै उनको विवाह भयो । विवाहसँगै पढाइ र राजनीतिमा १० वर्षको लामो अन्तराल आयो । पारिवारिक जिम्मेवारी, सामाजिक अपेक्षा र समयको अभावले उनको सक्रियता रोकियो । यो मौनता तोड्ने अवसर तत्कालीन नेपाली कांग्रेस काभ्रे जिल्ला अध्यक्ष मधु आचार्यको पहलमा आयो । उनले सुनाका श्रीमानलाई आग्रह गरे— “उनको भविष्य राजनीतिमा छ, सहयोग गर्नुहोस्।” त्यसपछि सुना पुनः राजनीतिको बाटोमा फर्किइन् ।
विवाहपश्चातको बसोबास काठमाडौं क्षेत्र नं. २ मा हुँदा उनले कांग्रेसको क्षेत्रीय सदस्यको जिम्मेवारी लिइन्, दलित महिला संघको केन्द्रीय सदस्य बनिन् । पढाइ पनि पुनः सुरु भयो । राजनीति, परिवार र पढाइको त्रिकोणलाई सन्तुलनमा राख्नु सजिलो थिएन । तर, दशकपछि पुनः सक्रिय हुँदा उनको भित्रको आत्मविश्वास अझ बढ्यो ।
२०७९ सालमा नेपाली कांग्रेसले उनलाई समानुपातिक सूचीमा दलित कोटाबाट राख्यो । यसरी उनी बागमती प्रदेशसभाको सदस्य बन्न सफल भइन् ।
विद्यार्थी कालदेखि नै राजनीतिमा सक्रियता देखाएकै कारण सुना परियार २०६४ सालको संविधानसभाको चुनावमा समानुपातिक दलित तर्फ पनि बन्द सूचीमा पर्न सफल भएकी थिइन् । शिक्षा क्षेत्रमा लागेर समाजलाई शैक्षिक रूपान्तरण गर्ने उद्देश्यले उनी अघि बढिरहेकी थिइन्। यसै क्रममा बागमती प्रदेशको समानुपातिक सांसद हुँदै गर्दा उनलाई पार्टीले उपसभामुखको उम्मेदवार समेत बनाएको थियो।
संसदमा सशक्त आवाज-
प्रदेशसभामा पुगेपछि सुना भन्थिन् ‘बाहिरबाट देखिने राजनीति र भित्रको अभ्यास धेरै फरक रहेछ ।’ तर, उनले आफ्नो लक्ष्य बिर्सिन दिइनन् । साढे दुई वर्षको कार्यकालमा उनी दलित, महिला र सीमान्तकृत समुदायका सवालमा निरन्तर बोलिरहिन् । १९ ओटा प्रदेशसभा बैठकमध्ये सायदै कुनै बैठकमा उनी अनुपस्थित भइन् । सभामा उनको हस्तक्षेप प्रष्ट, तथ्यमा आधारित र मुद्दा–केन्द्रित हुन्छ ।
“म आफैंले भोगेको विभेद, हेरेको अन्याय र महसुस गरेको पीडा नै मेरो राजनीति गर्ने प्रेरणा हो,” उनी भन्छिन्, “संसदमा बोलेका हरेक शब्द यी समुदायकै आवाज हुन् ।” अहिले उनी अर्थ तथा विकास समिति र विशेष अधिकार समितिको सदस्य छिन् । ‘मिनी संसद’ भनिने यी समितिहरूमा पनि उनी उत्तिकै सक्रिय छन् । दलित समुदायका अधिकार, महिला सशक्तिकरण, सीमान्तकृत वर्गका पहुँचका सवालमा उनी निरन्तर दबाब सिर्जना गर्छिन् ।
संघर्षको पाठ
सुना परियारको कथा केवल व्यक्तिगत उपलब्धिको मात्र होइन, सामाजिक संरचनालाई चुनौती दिने साहसको कथा पनि हो । “हामीले उठाउने मुद्दा संसदमा मात्र सीमित हुनु हुँदैन । यसलाई नीतिमा, अनि व्यवहारमा उतार्न सक्नुपर्छ,” उनी भन्छिन् । धुलिखेलको एउटा दलित परिवारमा जन्मिएकी ती बालिका आज बागमती प्रदेशसभामा विधायिका भएकी छन् । उनले कानुन संकायमा स्नातक पूरा गरेर अधिवक्ताको रूपमा आफ्नो पेसागत यात्रा सुरु गरिन् । अहिले उनी दलित महिलाको विषयमा विद्यावारिधि (PHD) गर्दै छिन् । सुना राजनीति मात्र होइन, बौद्धिक र कानुनी क्षेत्रमा पनि आफ्नो पकड बलियो बनाउँदै छिन् ।
आफ्नो कथा धेरै युवती र सीमान्तकृत समुदायका लागि प्रेरणाको स्रोत होस् भन्ने सुनाको चाहना छ । सुना परियारको यात्रा एउटा प्रमाण हो ‘अवसर, दृढता र निरन्तर प्रयासको बलमा दलित महिलाले पनि नेतृत्वको शिखरमा पुगेर समाजलाई दिशा दिन सक्छन् ।’












प्रतिक्रिया दिनुहोस्