images
images

वीरगञ्जमा हैजा नियन्त्रण कठिन बन्दै, शैक्षिक संस्था दुई दिनका लागि बन्द

काठमाडौँ — पर्साको वीरगञ्जमा हैजा नियन्त्रण चुनौतीपूर्ण बन्दै गएको छ। हालसम्म हैजाको लक्षण देखिएका २५४ मध्ये ७१ जनामा संक्रमण पुष्टि भएको छ भने १२४ जना उपचारपछि डिस्चार्ज भइसकेका छन्। बाँकीको नमुना परीक्षणको रिपोर्ट आउन बाँकी रहेको वीरगञ्ज महानगरपालिकाका स्वास्थ्य शाखा प्रमुख राजुप्रसाद साहले जानकारी दिए। नारायणी अस्पताल, तराई हस्पिटल, नेसनल मेडिकल कलेज र वीरगञ्ज हेल्थ केयरलगायतका स्वास्थ्य संस्थामा बिरामीको चाप सामान्य अवस्थाभन्दा धेरै बढेको छ। चाप बढेपछि नारायणी अस्पतालले चिकित्सक र कर्मचारीलाई बिदा रोक्का गर्दै खटिन निर्देशन दिएको छ।

हैजा नियन्त्रणका लागि स्थानीय तहदेखि केन्द्र सरकारसम्म समन्वयमा प्रयास भइरहेको छ। महानगरले जनचेतना फैलाउन १३० जनाको टोली गाउँ–टोलमा परिचालन गरेको छ। स्वास्थ्यकर्मीले सरसफाइ अभियान, खाद्य पदार्थको निरीक्षण र स्वच्छता परीक्षणमा काम गरिरहेका छन्।

महानगरपालिकाले सोमबार र मंगलबार क्षेत्रभित्रका विद्यालय तथा कलेज बन्द गर्ने घोषणा गरेको छ। यस्तै, स्वास्थ्य मन्त्रालयले पठाएको टोलीले अस्पताल निरीक्षणपछि आजदेखि गाउँस्तरमा पनि काम सुरु गरेको छ। प्रभावित क्षेत्रको पानीको नमुना संकलन भइसकेको तर परीक्षणको रिपोर्ट भने अझै नआएको साहले बताए।

प्रतिक्रिया दिनुहोस्