images
images

फेसबुक माउ कम्पनी मेटाले नेपालमा दर्ता अस्वीकार

काठमाडौं : सञ्चार तथा सूचना प्रविधि मन्त्री पृथ्वीसुब्बा गुरुङले फेसबुकको माउ कम्पनी मेटाले नेपालको कानुन पालना गर्न अस्वीकार गरेको खुलासा गरेका छन्। राष्ट्रियसभाको मंगलबारको बैठकमा सामाजिक सञ्जालसम्बन्धी विधेयकमाथि भएको सैद्धान्तिक छलफलमा उठेका प्रश्नहरूको जवाफ दिँदै मन्त्री गुरुङले यस्तो बताएका हुन्। उनका अनुसार, नेपालमा दर्ता हुन पटक–पटक आग्रह गर्दा पनि मेटाले नेपालको संविधान र कानुन नमान्ने जवाफ दिएको छ।

मन्त्री गुरुङले विधेयक ल्याउने उद्देश्य सरकारका आलोचक वा व्यवस्थाविरोधीहरूको आवाज दबाउने नभई मुलुकमा बढ्दो डिजिटल प्लेटफर्मको प्रभावलाई नियमन गर्ने भएको बताए। उनका अनुसार सामाजिक सञ्जालमार्फत अशान्ति फैलाउने वा राष्ट्रहितविरोधी गतिविधि नियन्त्रण गर्न यो विधेयक आवश्यक छ। “हिजो मात्रै सर्वोच्च अदालतले पनि सामाजिक सञ्जाललाई तत्काल नियमन गर्न निर्देशन दिएको छ। जसले जथाभावी प्रयोग गर्छन्, तिनीहरूलाई नियन्त्रण गर्नुपर्छ,” मन्त्री गुरुङले भने।

उनले नेपालमा सञ्चालन हुने सबै प्लेटफर्म कानूनी दायरामा आउनुपर्ने भन्दै सो उद्देश्य पूर्तिका लागि विधेयक महत्त्वपूर्ण हुने तर्क गरे। उनका अनुसार, सामाजिक सञ्जालको प्रयोगलाई सुरक्षित, जिम्मेवार र उत्तरदायी बनाउन सरकारले यो विधेयक अघि सारेको हो।

प्रतिक्रिया दिनुहोस्