रसुवा — रसुवाको भोटेकोसी नदीमा गएराति पुनः ठूलो बाढी आएको छ। राति करिब २ बजेबाट आएको बाढीले पासाङ ल्यामु सडकखण्डका सात–आठ स्थानमा सडक बगाएपछि स्याफ्रुवेसीदेखि रसुवागढीसम्मको सडक पूर्णरूपमा अवरुद्ध भएको छ। जिल्ला प्रहरी कार्यालय रसुवाका प्रमुख डीएसपी हेमबहादुर शाहीका अनुसार बाढीको असर असार २४ गतेको बाढी सरह ठूलो रहेको छ। “गएको असार २४ गते आएको जत्रै बाढी आएको छ,” डीएसपी शाहीले भने, “७/८ ठाउँमा सडक पूर्णरूपमा बगाएको छ। अहिले सडक पूर्णरूपमा अवरुद्ध छ।”
बाढीले पहिल्यै क्षतिग्रस्त बनाएको सडक केही दिनअघिमात्र मर्मत भई सवारी आवागमन खुलेको थियो। तर, नयाँ स्थानमा समेत बाढीले कटान गरेपछि पुनः आवागमन रोकिएको हो। यद्यपि रसुवा क्षेत्रमा भारी वर्षा नभए पनि तिब्बततिर भएको वर्षा वा हिमताल फुटेका कारण बाढी आएको हुनसक्ने अनुमान प्रहरीको छ। “रसुवा क्षेत्रमा खासै पानी परेको छैन,” शाहीले भने, “तिब्बततिर भारी वर्षा भएको वा हिमताल फुटेको आशंका छ। यकिन कारण खुलिसकेको छैन।” हालसम्म बाढीले भएको सम्पूर्ण क्षतिको विवरण आउन बाँकी रहेको प्रहरीले जनाएको छ। घटनास्थलतर्फ प्राविधिक टोली खटाइएको छ।














प्रतिक्रिया दिनुहोस्