काठमाडौँ — सिन्धुलीको गोलन्जोर गाउँपालिका–६ छेत्पाबाट सम्पर्कविहीन भएका भनिएका हायू परिवारका सदस्य पोखराको गगनगौंडामा सुरक्षित अवस्थामा फेला परेका छन्। जिल्ला प्रहरी कार्यालय कास्कीका अनुसार उनीहरूलाई गगनगौंडास्थित एउटा घरमा बसिरहेको अवस्थामा सोमबार राति भेटिएको हो। सम्पर्कविहीन भएको खबर बाहिरिएपछि उनीहरू बसेको होटलका सञ्चालकले प्रहरीलाई खबर गरेका थिए। त्यसपछि सीसीटीभी फुटेजको सहयोगमा उनीहरूको बसोबास स्थान पत्ता लागेको हो।
प्रहरीका अनुसार हायू परिवारका सदस्यहरू काम खोज्दै पोखरा पुगेका थिए। “सिन्धुलीमा काम नभएपछि पोखरामा ज्यामी काम गर्न आएका हौँ,” भन्ने उनीहरूको भनाइ छ। परिवारका १६ सदस्य गत बिहीबारदेखि सम्पर्कविहीन बनेपछि स्थानीय बासिन्दाले प्रहरी र जनप्रतिनिधिलाई खबर गरेका थिए। घरमा ६ वटा बाख्रा खोरमै बाँधिएको र कुकुर छाडिएको अवस्थामा भेटिएपछि घटनालाई रहस्यमय मानिएको थियो।
सम्पर्कविहीनमध्ये एक छोरी र ज्वाइँ पहिले नै पोखरामा बस्दै आएका थिए भने अर्की छोरी काठमाडौँमा बस्ने गरेको प्रहरीले जनाएको छ। हायू परिवार बिहीबार राति सवारीसाधन रिजर्भ गरेर सिन्धुलीबाट हेटौँडा, मुग्लिन हुँदै पोखरा पुगेका थिए। घटनापछि व्यापक चासो र खोजी सुरु भएको थियो।














प्रतिक्रिया दिनुहोस्