काठमाडौँ — केही दिनअघि सक्रिय देखिएको मनसुन अहिले फेरि कमजोर बनेको छ। मौसमविद् हरिप्रसाद दाहालका अनुसार मनसुन पूर्ण रूपमा निष्क्रिय नभई कम सक्रिय अवस्थामा रहेको हो। यसको असरस्वरूप काठमाडौँ उपत्यकासहित देशका धेरै ठाउँमा मौसम सुक्खा छ भने आज बिहानैदेखि घाम चर्किएको छ। गएराति केही स्थानमा मात्र हल्का वर्षा भएको थियो। आज दिनभर कोशी, बागमती, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी भूभागका केही स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षा हुन सक्ने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।
आज राति कोशी, मधेस र बागमती प्रदेशका केही स्थानमा पनि मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षा हुने सम्भावना छ। कोशी र मधेस प्रदेशका एक-दुई स्थानमा भारी वर्षा हुन सक्ने चेतावनी दिइएको छ। मौसमविद्का अनुसार २४ घण्टाभित्र १० मिलिमिटरभन्दा कम पानी परेमा हल्का, १० देखि ५० मिलिमिटरसम्म परेमा मध्यम, ५० देखि १०० मिलिमिटरसम्म परेमा भारी, १०० देखि २०० मिलिमिटरसम्म परेमा धेरै भारी र २०० मिलिमिटरभन्दा बढी परेमा अति भारी वर्षा मानिन्छ।
यस्तै, प्रदेशका १० प्रतिशतभन्दा कम क्षेत्रफलमा वर्षा हुने देखिएको अवस्थामा ‘एक-दुई स्थानमा’, १० देखि ३० प्रतिशत क्षेत्रफलमा हुने सम्भावनालाई ‘थोरै स्थानमा’, ३० देखि ५० प्रतिशतलाई ‘केही स्थानमा’, ५० देखि ८० प्रतिशतलाई ‘धेरै स्थानमा’ र ८० प्रतिशतभन्दा बढी क्षेत्रफलमा वर्षा हुने देखिएमा ‘अधिकांश स्थानमा वर्षा’ भनिने मौसम विभागको व्याख्या छ।
मनसुन कम सक्रिय भएकाले तत्काल देशभर व्यापक वर्षाको सम्भावना कम रहेको देखिन्छ। तर, केही क्षेत्रहरूमा भने स्थान–विशेषमा भारी वर्षा हुन सक्ने हुँदा सतर्कता अपनाउन सुझाव दिइएको छ।








प्रतिक्रिया दिनुहोस्