images
images

देशका पूर्वी र मध्य क्षेत्रहरूमा भारी वर्षा, बाढीको जोखिम बढ्दो

काठमाडौँ, २०८२ साउन ७ गते – देशका विभिन्न भागमा गएरातिदेखि लगातार वर्षा भइरहेको छ। बाढी तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार विशेषगरी पूर्वी र मध्य भागमा उल्लेखनीय वर्षा मापन गरिएको छ। सङ्खुवासभाको नुम वर्षामापन केन्द्र र ताप्लेजुङको ताप्लेथोक वर्षामापन केन्द्रमा अत्यधिक वर्षा मापन भएको छ। पछिल्लो ६ घण्टामा इलामको कन्याम र सप्तरीको कल्याणपुरमा पनि भारी वर्षा भएको छ।

यसैबीच, मकवानपुरको लाल बकैया नदी र जुरेली बजार जलमापन केन्द्रमा पानीको सतहले सतर्कता तह पार गरिसकेको छ। मौसम विभागले उक्त क्षेत्रका बासिन्दालाई सतर्क रहन आग्रह गरेको छ। सिन्धुपाल्चोकको गुम्थाङ, बाह्रबिसे, दोलखाको जिरी, बुस्टी, सिंगटी, सोलुखुम्बुको सल्लेरी, पेकारनस र आसपासका क्षेत्रमा पनि मध्यम वर्षा मापन भएको छ। ती स्थानहरूमा अझै केही घण्टा वर्षा जारी रहने सम्भावना रहेकोले महाशाखाले बाढी र पहिरोको जोखिमलाई ध्यानमा राखी सतर्कता अपनाउन सुझाएको छ।

धनकुटाको मछुवाघाट, त्रिवेणी र आसपासका स्थानहरूमा हल्कादेखि मध्यम वर्षा भएको छ भने मकवानपुरको भोर्लेनी, उदयपुरको कटारी, उदयपुरगढी, मुर्कुची बजार, खोटाङको आइसेलुखर्क, सप्तरीको रुपनी बजार र आसपासका क्षेत्रमा पनि लगातार वर्षा भइरहेको छ। बैतडीको दैनसिली वर्षामापन केन्द्रमा पनि मध्यम वर्षा मापन गरिएको छ। हिजो बेलुका बाग्लुङ र वरपरका क्षेत्रमा पनि मध्यम वर्षा मापन गरिएको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।

महाशाखाले वर्षा अझै केही दिन जारी रहने सम्भावना रहेको जनाउँदै विशेषगरी नदी किनार, पहाडी ढलान भएका बस्तीहरू तथा बजार क्षेत्रहरूमा आवश्यक सतर्कता अपनाउन आग्रह गरेको छ। जनधनको क्षति हुन नदिन समयमै पूर्वतयारी गर्न र जोखिमयुक्त स्थानमा नबस्न महाशाखाले सबै नागरिकलाई सचेत गराएको छ।

प्रतिक्रिया दिनुहोस्