काठमाडौं — कोशी र बागमती प्रदेशका केही क्षेत्रमा हाल हल्कादेखि मध्यम वर्षा भइरहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। कोशीको झापा तथा बागमतीको नुवाकोट र सिन्धुपाल्चोक आसपासमा पानी परेको हो। महाशाखाका अनुसार आज देशभर आंशिकदेखि पूर्ण बदली रही धेरैजसो ठाउँमा मेघगर्जन र चट्याङसहित वर्षा हुने अनुमान गरिएको छ। बागमती र गण्डकी प्रदेशका एक–दुई स्थानमा भारी वर्षा हुन सक्ने सम्भावना रहेको पनि महाशाखाले उल्लेख गरेको छ।
तर, गत शनिबारदेखि सक्रिय देखिएको मौसमी प्रणालीले पर्याप्त पानी पार्ने अपेक्षा गरिएको भए पनि सो अनुसारको वर्षा हुन सकेन। कोशी प्रदेशमा झापा र धनकुटा, गण्डकीमा कास्की तथा सुदूरपश्चिमको कञ्चनपुरलगायत केही सीमित ठाउँमा मात्रै उल्लेख्य वर्षा भएको हो। अन्य ठाउँमा भने औसतमा मध्यम मात्राको वर्षा भएकोले प्रणाली कमजोर भएको मौसमविद्को भनाइ छ।
मनसुन सुरु भएयता मधेश प्रदेशमा सामान्यभन्दा निकै कम पानी परेको छ। यसपटक पनि पर्याप्त वर्षा नहुँदा मधेशका साथै मध्यपहाडका धेरै क्षेत्रमा अझै रोपाइँ सुरु हुन सकेको छैन। सिँचाइको सुविधा नभएका खेतहरू बाँझै रहेका छन्।
यसबर्ष मनसुनमा औसतभन्दा बढी वर्षा हुने अनुमान गरिएको थियो, तर मनसुन भित्रिएको साढे डेढ महिनासम्म अपेक्षित वर्षा भएको छैन। मौसमविद्हरुले यसबीचमा तीन–चार पटक ठूलो पानी पर्ने सम्भावना बताएका थिए, तर ती पूर्वानुमान व्यापक रूपमा सफल हुन सकेनन्। यद्यपि, मनसुनको अवधि अझै झन्डै साढे दुई महिना बाँकी रहेकाले आगामी दिनहरूमा ठुलो वर्षा हुने सम्भावना भने अझै कायमै रहेको मौसमविद्हरुको भनाइ छ।








प्रतिक्रिया दिनुहोस्