images
images

सिद्धबाबा सुरुङमार्गको निर्माण तीव्र, ५७ प्रतिशत भौतिक प्रगति

पाल्पा — राष्ट्रिय गौरवको आयोजना अन्तर्गत रहेको सिद्धबाबा सुरुङमार्गको निर्माण कार्य तीव्र गतिमा अगाडि बढिरहेको छ। सिद्धार्थ राजमार्गअन्तर्गत पाल्पाको तिनाउ गाउँपालिका–३ दोभानस्थित सिद्धबाबा क्षेत्रमा निर्माण भइरहेको सुरुङमार्ग छिचोलिएसँगै काममा तीव्रता आएको हो। सिद्धबाबा सुरुङमार्ग आयोजना कार्यालयका अनुसार हालसम्म सुरुङमार्गको ५७ प्रतिशत भौतिक प्रगति र ५१ प्रतिशत वित्तीय प्रगति पूरा भइसकेको छ।

आयोजनामा कार्यरत इञ्जिनियर सविता ज्ञवालीका अनुसार मुख्य टनेलको भुइँ भाग (इन्भर्ट) एक हजार ८९ मिटर र दायाँबायाँको लेपन (लाइनिङ) ८३४ मिटर पूरा भइसकेको छ। हाल २९२ मिटर क्षेत्रमा लाइनिङको काम भइरहेको छ। सुरुङमार्गमा तीनवटा बाइपास राखिएका छन्, जसमा पहिलो बाइपास १५१ मिटर, दोस्रो १६१ मिटर र तेस्रो १३० मिटर लम्बाइको रहेको छ। पहिलो बाइपासमा १४५ मिटर इन्भर्ट र १२४ मिटर लाइनिङको काम पूरा भएको छ। तेस्रो बाइपासमा १२५ मिटर इन्भर्ट र ३० मिटर लाइनिङ सम्पन्न भइसकेको छ।

मुख्य सुरुङमार्ग दुई लेनको हुनेछ, जसको लम्बाइ १,०८९ मिटर, चौडाइ १०.५ मिटर र उचाइ करिब ७ मिटर हुनेछ। आयोजना प्रमुख कृष्णराज अधिकारीका अनुसार सुरुङमार्गको इन्भर्ट र लाइनिङको काम सकेपछि एक–दुई महिनाभित्र लाइटिङ, सञ्चार प्रणाली र सुरक्षा उपकरण जडानको काम सुरु गरिनेछ। अहिले मुख्य सुरुङमार्गभित्र अत्यावश्यक सवारी साधन आवतजावत गर्न सक्ने अवस्था बनिसकेको छ।

२०७९ सालदेखि सुरु गरिएको यो सुरुङमार्ग बुटवल–तानसेन सडकखण्ड अन्तर्गत माथिल्लो सिद्धबाबा मन्दिरबाट सुरु भएर एक हजार १२६ मिटर लम्बाइमा फैलिएको छ। सात अर्ब ३४ करोड २१ लाख ४० हजार रुपैयाँ लागतमा चाइना स्टेट कन्स्ट्रक्सन इञ्जिनियरिङ कर्पोरेसनले निर्माण गरिरहेको यो आयोजना २०८३ सालसम्ममा सम्पन्न गर्ने लक्ष्य रहेको आयोजना कार्यालयले जनाएको छ।

प्रतिक्रिया दिनुहोस्