काभ्रेका तीन स्थानमा गएको पहिरोका कारण बीपी राजमार्ग रातिदेखि नै अवरुद्ध भएको छ। जिल्ला प्रहरी कार्यालय काभ्रेका डीएसपी मिनबहादुर घलेका अनुसार रोसी गाउँपालिका–११ स्थित माम्ती खोला, रोसी–९ को पिन्थली र बिरुवाडाँडामा पहिरो खस्दा सडक दुवैतर्फ अवरुद्ध भएको हो। “रातिदेखि नै जेसीभीको सहायतामा पहिरो पन्छाउने काम भइरहेको छ, तर अझै सडक खुलाउन सकिएको छैन,” उनले मंगलबार बिहान जानकारी दिए, “सडक सञ्चालनमा ल्याउन अझै ३–४ घण्टा लाग्न सक्छ।”
माम्ती क्षेत्रमा सोमबार राति १० बजेतिर आएको भेलले सडक कटान गर्दा यातायात ठप्प भएको हो। त्यसैगरी, राति साढे ११ बजेतिर पिन्थलीमा खहरे खोलाको लेदो र बिरुवाडाँडामा पनि पहिरो आएर दुवैतर्फ सवारी आवागमन अवरुद्ध भएको छ। इलाका प्रहरी कार्यालय मंगलटारबाट खटिएका प्रहरी टोलीले जेसीभीको सहायतामा पहिरो हटाउने प्रयास जारी राखेका छन्।
डीएसपी घलेले यात्रुलाई आवश्यक परेमा जिल्ला प्रहरी कार्यालय काभ्रेमा सम्पर्क गर्न आग्रह गरेका छन्। सम्पर्कका लागि मोबाइल नम्बरहरू ९८५१२८४३७६, ९८५११२३८०५, ९८५१२८५४०० र ९८५१२३७३३९ उपलब्ध गराइएको छ। गत वर्षको असोज १२ गतेको बाढीले क्षतिग्रस्त बनाएको बीपी राजमार्ग सामान्य वर्षातमै अवरुद्ध हुने गरेको छ। यो वर्ष पनि वर्षा सुरु भएयता पटक–पटक सडक अबरुद्ध भइसकेको छ।
सडक अवरोध हटाउनका लागि सडक डिभिजन कार्यालय भक्तपुरले धुलिखेलदेखि सिन्धुली सिमाना डालाबेशीसम्म २१ वटा उपकरण—जसमा जेसीभी, लोडर, ग्रेडर र टिपरसमेत—राजमार्गमै तयारी अवस्थामा राखेको जनाएको छ।








प्रतिक्रिया दिनुहोस्