images
images

आदिकवि भानुभक्तको २१२औँ जन्मजयन्ती आज विविध कार्यक्रमसहित मनाइँदै

काठमाडौं — नेपाली साहित्यका आदिकवि भानुभक्त आचार्यको २१२औँ जन्मजयन्ती आज नेपाल तथा विदेशका विभिन्न स्थानमा विविध कार्यक्रमको आयोजना गरी मनाइँदै छ। तनहुँको चुँदीरम्घा गाउँमा वि.सं. १८७१ असार २९ गते जन्मिएका भानुभक्तले संस्कृतमा लेखिएको ‘रामायण’लाई नेपाली भाषामा भावानुवाद गरी आम नेपाली जनतालाई साहित्यिक दृष्टिले गहिरो योगदान दिएका थिए। नेपाली जनजीवनसँग नजिकको भाषामा लेखिएको यस रामायणले उनीप्रति गहिरो सम्मान जगाएको छ।

पृथ्वीनारायण शाहले नेपाललाई भौगोलिक रूपमा एकीकरण गरेझैं, भानुभक्तले भाषा, साहित्य र संस्कृतिको माध्यमबाट देशलाई सांस्कृतिक रूपमा एकीकृत गरे भन्ने धारणा रहिआएको छ। रामायण बाहेक ‘वधुशिक्षा’, ‘प्रश्नोत्तर’, ‘भक्तमाला’, ‘रामगीता’ जस्ता कृति र फूटकर कविताहरू पनि भानुभक्तका चर्चित रचनामा पर्छन्। कुमारी चोकमा कार्यरत रहँदा सरकारी ढिलासुस्तीप्रति असन्तुष्टि जनाउँदै उनले, ‘भोलिभोलि भन्दैमा सब घर बितिगो, बक्सियोस् आज झोली’ जस्ता कविता लेखेका थिए।

भानुभक्तको प्रेरणा भनेको एक सामान्य घाँसीसँगको भेटबाट उत्पन्न भएको मानिन्छ, जसले उनलाई जीवनमा केही गरि नाम कमाउन प्रेरणा दिएको उल्लेख गरिन्छ। उनको योगदानलाई स्मरण गर्दै आज राजधानीको रानीपोखरीस्थित राष्ट्रिय विभूति भानुभक्तको शालिकमा माल्यार्पण तथा प्रभातफेरीको आयोजना गरिएको छ। यस्तै, घरघरमा रामायण पाठ, भानुभक्त रचनापाठ, कविता प्रतियोगिता तथा साहित्यिक गोष्ठीहरू आयोजना हुँदैछन्।

भानुभक्तको योगदानमाथि समीक्षा पनि भइरहेका छन्। केही आलोचकहरूले उनलाई आदिकवि भन्न मिल्दैन भन्ने तर्क राखेपनि त्रिभुवन विश्वविद्यालयका उपप्राध्यापक ज्ञाननिष्ठ ज्ञवाली जस्ता अनुसन्धानकर्ताहरू रामायणलाई नेपाली लोकलयमा रूपान्तरण गरेर भाषिक एकताको आधार तयार पार्ने कार्यको मूल्यांकन गर्दै उनलाई आदिकवि भन्नु न्यायोचित रहेको बताउँछन्। उनको निधन वि.सं. १९२५ सालको असोज महिनामा भएको थियो। नेपाल बाहेक भारतको सिक्किम, दार्जिलिङ, भुटान, बर्माजस्ता नेपाली भाषाभाषी बसोबास गर्ने क्षेत्रमा पनि भानु जयन्ती भव्य रूपमा मनाइँदैछ।

प्रतिक्रिया दिनुहोस्