काठमाडौँ — हाल देशभर मनसुनी वायुको प्रभाव सक्रिय रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। मनसुनको न्यून चापीय रेखा पूर्वी क्षेत्रमा सरदर स्थानको आसपासमा रहँदा पश्चिमी क्षेत्रमा भने सरदर स्थानभन्दा केही उत्तरतिर सरेको छ।
महाशाखाका अनुसार देशका पहाडी भू-भागहरू सामान्यतया बदली भएका छन् भने अन्य क्षेत्रहरूमा आंशिक बदलीको अवस्था देखिएको छ। पहाडी भू-भागका एक-दुई स्थानमा मेघगर्जन र चट्याङसहित हल्का वर्षा भइरहेको छ।
शनिबार देशभर सामान्य बदली रहनेछ। बागमती, गण्डकी र सुदूरपश्चिम प्रदेशसहित देशका पहाडी क्षेत्रमा केही स्थानहरूमा र अन्य क्षेत्रहरूमा थोरै स्थानहरूमा मेघगर्जन तथा चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ। त्यस्तै, बागमती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका एक-दुई स्थानमा भारी वर्षा हुन सक्ने पूर्वानुमान गरिएको छ।
उच्च पहाडी तथा हिमाली भू-भागका केही स्थानहरूमा हल्कादेखि मध्यम वर्षा र हिमपातको सम्भावना पनि रहेको महाशाखाले जनाएको छ।
संभावित वर्षाका कारण भू-क्षय, बाढी, पहिरो तथा गेग्रान बहावको जोखिम रहन सक्ने भएकाले सहरी र तराई क्षेत्रहरूमा डुबानको सम्भावना रहेको चेतावनी दिइएको छ। नदी, नाला तथा खोलामा पानीको सतह बढ्न सक्ने भएकाले सर्वसाधारण र सम्बन्धित निकायलाई आवश्यक सतर्कता तथा पूर्वतयारी अपनाउन महाशाखाले आग्रह गरेको छ।










प्रतिक्रिया दिनुहोस्