images
images

आजको मौसम पूर्वानुमान : हल्कादेखि भारी वर्षाको सम्भावना

आज (असार २४, म‌ंगलबार) को मौसम पूर्वानुमानअनुसार बिहानदेखि बेलुकासम्म देशभरका पहाडी भूभागका केही स्थानहरूमा र बाँकी भूभागका थोरै स्थानहरूमा मेघगर्जन तथा चट्याङसहित हल्कादेखि मध्यम वर्षा हुने सम्भावना छ। कोसी, बागमती, गण्डकी र सुदूरपश्चिम प्रदेशका एक-दुई स्थानमा भारी वर्षाको सम्भावना पनि रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। साथै, देशका उच्च पहाडी तथा हिमाली भूभागमा थोरै स्थानहरूमा हल्कादेखि मध्यम वर्षा वा हिमपात हुनसक्नेछ।

आज राति बागमती र गण्डकी प्रदेशका साथै बाँकी प्रदेशका पहाडी भूभागका केही स्थानहरूमा र देशका अन्य भागमा थोरै स्थानहरूमा पनि मेघगर्जन/चट्याङसहित हल्कादेखि मध्यम वर्षा हुने सम्भावना छ। बागमती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका एक-दुई स्थानमा भारी वर्षा हुनसक्नेछ भने उच्च पहाडी तथा हिमाली भूभागका एक-दुई स्थानहरूमा हल्कादेखि मध्यम वर्षा वा हिमपातको सम्भावना छ।

मौसमविद्का अनुसार २४ घण्टाभित्र १० मिलिमिटरभन्दा कम पानी परे हल्का वर्षा मानिन्छ। १० देखि ५० मिलिमिटर पानी परे मध्यम वर्षा, ५० देखि १०० मिलिमिटरसम्म भारी वर्षा, १०० देखि २०० मिलिमिटर धेरै भारी वर्षा र २०० मिलिमिटरभन्दा बढी पानी परे अति भारी वर्षा मानिन्छ।

वर्षा हुने क्षेत्रको प्रतिशतअनुसार ‘एक-दुई स्थान’ भन्नाले सम्बन्धित प्रदेशको १० प्रतिशतभन्दा कम क्षेत्रमा वर्षा हुने सम्भावना जनाइन्छ। १०–३० प्रतिशत क्षेत्र ओगट्ने सम्भावनालाई ‘थोरै स्थान’, ३०–५० प्रतिशतलाई ‘केही स्थान’, ५०–८० प्रतिशतलाई ‘धेरै स्थान’ र ८० प्रतिशतभन्दा बढी क्षेत्र ओगट्ने सम्भावनालाई ‘अधिकांश स्थान’ भनिन्छ।

प्रतिक्रिया दिनुहोस्