बिपी राजमार्गमा रातको समयमा सवारी सञ्चालनमा फेरि प्रतिबन्ध लगाइएको छ। सिन्धुली र रामेछाप जिल्लाको संयुक्त सुरक्षाका लागि गठित सुरक्षा समितिको सिफारिसमा सिन्धुलीदेखि खुर्कोट हुँदै काठमाडौं जाने सार्वजनिक तथा निजी सवारी साधनका लागि रातको यात्रा प्रतिबन्ध थप ३० दिन लम्ब्याइएको हो। जिल्ला प्रशासन कार्यालय सिन्धुलीले सोमबार सूचना जारी गर्दै असार २० गतेदेखि प्रत्येक साँझ ६:३० बजेपछि बिहान ५:०० बजेसम्म सवारी सञ्चालनमा रोक लाग्ने जनाएको छ। यसअघि असार ६ गतेदेखि १५ दिनका लागि लागू गरिएको रातको सवारी निषेध आदेश हालसम्म पनि प्रभावकारी रूपमा लागू भइरहेको छ।
प्रशासनले निरन्तर भइरहेको वर्षाका कारण सम्भावित प्राकृतिक विपद् हुन सक्ने भन्दै यात्रु सुरक्षालाई ध्यानमा राखेर निर्णय लिइएको जनाएको छ। सिन्धुलीका प्रमुख प्रशासकीय अधिकृत प्रवीण कटवालद्वारा हस्ताक्षरित सूचनामा यातायात सञ्चालनमा रोक लगाउँदा पर्ने असुविधाप्रति क्षमा मागिएको छ। मनसुन अझै सक्रिय रहेको र सडकमा पहिरो तथा अन्य जोखिमयुक्त अवस्थाको सम्भावना उच्च भएकाले सावधानी स्वरूप राजमार्गमा रातको आवागमन रोकिने प्रशासनको भनाइ छ। काभ्रेपलाञ्चोक, सिन्धुली र रामेछाप जिल्लाको संयुक्त सुरक्षा बैठकले पनि यात्री र सवारीको सुरक्षाका लागि यस्तो निर्णयलाई आवश्यक ठहर गरेको उल्लेख गरिएको छ।











प्रतिक्रिया दिनुहोस्