काठमाडौँ — प्रतिनिधिसभाको शिक्षा समितिमा प्रारम्भिक बाल विकास तथा शिक्षासम्बन्धी विषयमा सहमति जुटेको छ। समितिको बिहीबार बसेको बैठकमा सभापति अम्मरबहादुर थापाले प्रस्तुत गरेको प्रस्तावअनुसार बाल विकास शिक्षालाई आधारभूत शिक्षामा समेट्ने निर्णय गरिएको हो। सोही अनुसार प्रारम्भिक बाल विकास तथा शिक्षालाई कक्षा ८ सम्मको विद्यालय शिक्षामा समावेश गरिनेछ। साथै, सार्वजनिक विद्यालयमा यो कार्यक्रम दुई वर्षे अवधिभन्दा बढी सञ्चालन गर्न नपाइने गरी सहमति जुटेको हो।
स्थानीय तहले राष्ट्रिय मापदण्डको अधीनमा रही बालबालिकामा सिकाइप्रति रुचि र सकारात्मक सोच विकास गर्न विद्यालयमा प्रारम्भिक बाल विकास केन्द्र सञ्चालन गर्न सक्नेछन्। ऐन लागू हुनु अगाडि सञ्चालनमा रहेका केन्द्रहरूलाई सम्बन्धित स्थानीय तहले समायोजन तथा पुनःवितरण गरी प्रत्येक विद्यालयमा कम्तीमा एउटा रहने व्यवस्था मिलाउनेछ।
स्रोतको सुनिश्चितता भएको अवस्थामा नेपाल सरकारले तोकेको मितिदेखि प्रारम्भिक बाल विकास तथा शिक्षालाई दुई वर्षे कार्यक्रमको रूपमा सञ्चालन गर्न सकिनेछ। कुनै पनि विद्यालयले पूर्वप्राथमिक शिक्षा दुई वर्षभन्दा बढी सञ्चालन गर्न पाउनेछैन। त्यस्तै, हाल कार्यरत बाल विकास सहजकर्ताहरू खुला प्रतिस्पर्धामार्फत हुने परीक्षामा पहिलो पटक सहभागी हुँदा उमेरको हद लागू नहुने व्यवस्था मिलाइएको छ।
यस सहमतिलाई प्रारम्भिक बाल शिक्षालाई संस्थागत बनाउन र सबै बालबालिकालाई समान अवसर उपलब्ध गराउने दिशामा गरिएको महत्वपूर्ण कदमका रूपमा लिइएको छ।










प्रतिक्रिया दिनुहोस्