बागमती प्रदेशको आगामी आर्थिक वर्षको बजेटप्रति नेपाली कांग्रेसका प्रदेशसभा सदस्यहरूले तीव्र असन्तुष्टि जनाएका छन्। बुधबार राति अबेरसम्म चलेको संसदीय दलको बैठकमा सांसदहरूले मुख्यमन्त्री बहादुर सिंह लामा र आर्थिक मामिला तथा योजनामन्त्री कुन्दनराज काफ्लेमाथि कडा आलोचना गरेका छन्। उनीहरूले बजेट निर्माणमा बिचौलिया हाबी भएको, योजनाहरू असमान रूपमा वितरण गरिएको र मन्त्रीहरूका व्यक्तिगत स्वार्थले बजेट विनियोजन प्रभावित भएको आरोप लगाएका छन्।
बैठकमा सहभागी सांसदहरूका अनुसार मुख्यमन्त्री लामा र अर्थमन्त्री काफ्लेले आफ्ना जिल्ला र क्षेत्रलाई प्राथमिकता दिँदै अन्य जिल्लाका योजनाहरू बेवास्ता गरेका छन्। केही सांसदले त मन्त्री काफ्लेलाई लक्षित गर्दै ‘बागमती प्रदेशमा दोलखा मात्रै हो र?’ भन्दै तीव्र असन्तुष्टि पोखेका थिए। दोलखामा अत्यधिक बजेट खन्याइएको भन्दै काफ्लेको नियतप्रति प्रश्न उठाइएको छ। उनीहरूले अर्थमन्त्रीको रूपमा केही स्वभाविक ढंगले बजेट लैजान सकिए पनि यो अस्वाभाविक रूपमा गरिएको भन्दै आपत्ति जनाएका थिए।
सांसदहरूले बजेटमा बिचौलिया हाबी भएको, अस्वाभाविक तरिकाले योजनाहरू समावेश भएको, कार्यक्षेत्र नभएका मन्त्रालयमा बाहिरका योजना पुगेको, एउटै योजना दोहोरिएको, र टुक्रे योजना हटाउने नीतिका बावजूद धेरै टुक्रे योजना समावेश गरिएको भन्दै प्रक्रिया र विश्वसनीयता दुवैप्रति प्रश्न उठाएका छन्। त्यस्तै, बागमती प्रदेशको बजेटमा गण्डकी प्रदेशको पूर्वी नवलपरासीको कावासोती नगरपालिका २ मा पूर्वाधार निर्माणका लागि बजेट विनियोजन गरिनु र हेटौंडाका १९ वटा वडामध्ये अस्तित्व नै नभएका वडा नम्बर २० र २२ मा बजेट परेको देखिएपछि पनि आलोचना भएको छ।
बैठकमा केवल सांसदहरूले मात्र होइन, केही मन्त्रीहरूले पनि बजेटमा असन्तुष्टि जनाउँदै आर्थिक मामिला मन्त्रालयले समयमै सिलिङ नदिएको, कम सिलिङ दिएको, र अन्य मन्त्रालयको बजेटमा पनि हस्तक्षेप गरेको आरोप लगाएका छन्। बैठकमा मतभेद चर्किएपछि बिहीबार बिहान पुनः बैठक बस्ने गरी बैठक स्थगित गरिएको थियो। संसदीय दलको बैठक लम्बिन सक्ने भएकाले ११ बजे बोलाइएको प्रदेशसभा बैठक पनि ढिलो सर्न सक्ने सम्भावना देखिएको छ।
यसबीच, मन्त्री काफ्लेले भने बजेटमा कुनै गलत नियत नरहेको दाबी गरेका छन्। सांसदहरूको आरोपको जवाफ दिँदै उनले कुनै कमजोरी नभएको र आशंका गर्नुपर्ने अवस्था नरहेको प्रतिक्रिया दिएका थिए। यता, मुख्यमन्त्री लामाले बजेटमा अधिकांश सांसदका योजना समेटिएको जिकिर गर्दै ‘माननीयज्यूहरूले किताब पूरै पढ्नुभएको छैन होला’ भन्ने टिप्पणी गरेका छन्। केही सांसदका योजनाहरू समयको सीमाका कारण छुटेको हुन सक्ने बताउँदै उनले दोहोरिएका योजनामा सुधार गरिने प्रतिबद्धता जनाएका छन्।










प्रतिक्रिया दिनुहोस्