काठमाडौँ — देशभर हाल मनसुनी वायुको प्रभाव सक्रिय रहेकाले विभिन्न क्षेत्रमा मौसम बदली भएको छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार अहिले कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका थोरै स्थानहरूमा हल्कादेखि मध्यम वर्षा भइरहेको छ।
बुधबार पनि देशभर आंशिकदेखि साधारण बदली रहनेछ। विशेष गरी कोशी र सुदूरपश्चिम प्रदेशसहित पहाडी भू–भागमा मौसम बढी बदली रहनेछ भने अन्य स्थानहरूमा आंशिकदेखि सामान्य बदलीको अवस्था रहने अनुमान गरिएको छ। कोशी र सुदूरपश्चिम प्रदेशका केही स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ। यी प्रदेशका एक–दुई स्थानमा भारीदेखि अत्यधिक भारी वर्षा समेत हुन सक्ने पूर्वानुमान गरिएको छ।
त्यस्तै, सबै प्रदेशका उच्च–पहाडी तथा हिमाली भू–भागका थोरै स्थानहरूमा हल्कादेखि मध्यम वर्षा वा हिमपातको सम्भावना पनि रहेको छ। महाशाखाले भारी वर्षाका कारण नदी तथा खोलानालाको जल सतह बढ्न सक्ने, गेग्रान बहाव, बाढी, पहिरो र भूक्षय जस्ता विपद् आउन सक्ने चेतावनी दिएको छ। साथै, जनस्वास्थ्य, कृषि, दैनिक जनजीवन, सडक तथा हवाई यातायातमा असर पर्न सक्ने भएकाले आवश्यक सतर्कता अपनाउन आग्रह गरिएको छ।










प्रतिक्रिया दिनुहोस्