images
images

कोसी र बागमतीमा भारी वर्षाको सम्भावना, मौसम विभाग

काठमाडौं, असार १० – जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाले आज देशभर विभिन्न स्थानमा हल्कादेखि धेरै भारी वर्षासम्मको सम्भावना रहेको जानकारी दिएको छ। महाशाखाले आज बिहान ६ बजे जारी गरेको बुलेटिनअनुसार कोसी, बागमती र गण्डकी प्रदेशका केही स्थानमा दिउँसो मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षा हुने सम्भावना छ भने कोसी र बागमती प्रदेशका एक–दुई स्थानमा भारी वर्षा पनि हुनसक्छ। यस्तै, यी प्रदेशका उच्च पहाडी तथा हिमाली भूभागमा हल्कादेखि मध्यम वर्षा वा हिमपातको सम्भावना पनि छ।

आज राति गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका धेरै स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षा हुने सम्भावना छ। ती प्रदेशका केही भागमा भारीदेखि धेरै भारी वर्षा पनि हुनसक्ने देखिएको छ। सबै प्रदेशका उच्च पहाडी तथा हिमाली भूभागका थोरै स्थानमा हल्कादेखि मध्यम वर्षा वा हिमपात हुनसक्ने महाशाखाले जनाएको छ। मौसमविद्का अनुसार २४ घण्टाभित्र १० मिलिमिटरभन्दा कम पानी पर्नु हल्का वर्षा, १० देखि ५० मिलिमिटरसम्म पानी पर्नु मध्यम वर्षा, ५० देखि १०० मिलिमिटरसम्म पानी पर्नु भारी वर्षा, १०० देखि २०० मिलिमिटरसम्म पानी पर्नु धेरै भारी वर्षा र २०० मिलिमिटरभन्दा बढी पानी पर्नु अति भारी वर्षाको संकेत हो।

यस्तै, एक–दुई स्थानमा वर्षा भन्नाले सम्बन्धित प्रदेशका १० प्रतिशतभन्दा कम क्षेत्रफलमा पानी पर्ने सम्भावना देखिन्छ। १० प्रतिशतदेखि ३० प्रतिशतसम्मको क्षेत्रफलमा वर्षा हुने सम्भावनालाई थोरै स्थानमा वर्षा भनिन्छ भने ३० प्रतिशतदेखि ५० प्रतिशतसम्मको सम्भावनालाई केही स्थानमा वर्षा भनिन्छ। त्यसैगरी ५० देखि ८० प्रतिशत क्षेत्रफलमा पानी पर्ने देखिएमा धेरै स्थानमा वर्षा हुने भनिन्छ। ८० प्रतिशतभन्दा बढी क्षेत्रफलमा सम्भावना देखिएमा अधिकांश स्थानमा वर्षा हुने मानिन्छ।

प्रतिक्रिया दिनुहोस्