images
images

बाढीले बगाएको बस एक किलोमिटर तल फेला, यात्रु सुरक्षि‍त

बुटवल — पूर्व–पश्चिम राजमार्गअन्तर्गत पूर्वी नवलपरासीको दुम्किबासस्थित विनयी खोलामा आएको बाढीले यात्रुबाहक बस बगाएको छ। भे १ ख ४०८५ नम्बरको बस बिहीबार राति करिब ११ बजेतिर बगाएको हो। बसमा तीन बालबालिकासहित ३८ जना यात्रु सवार थिए। पूर्वबाट बर्दिया जाँदै गरेको उक्त बस विनयी खोलाको बाढीले बगाएपछि करिब एक किलोमिटर तल फेला परेको प्रहरीले जनाएको छ।

जिल्ला प्रहरी कार्यालय नवलपुरका सूचना अधिकारी डीएसपी मधु नेपालका अनुसार बसमा सवार सबै यात्रु सकुशल उद्धार गरिएको छ। इलाका प्रहरी कार्यालय दुम्किबासका प्रहरी निरीक्षक राजन तिमिल्सेनाका अनुसार बस अहिले भर्खर फेला परेको हो।

गत पुस महिनामा भारतीय ओभरलोड ट्रकले विनयी खोलाको पुल भत्काएपछि त्यस स्थानमा डाइभर्सन निर्माण गरिएको थियो। तर वर्षासँगैको बाढीले पटक–पटक डाइभर्सन बगाउँदा यातायात नियमित अवरुद्ध हुने गरेको छ। पछिल्लो घटनापछि पनि डाइभर्सन बगाएको र दुम्किबासबाट दाउन्नेतर्फको सडक हिलाम्य भएकाले सवारी साधनहरू बीच बाटोमै अलपत्र परेका छन्।

प्रतिक्रिया दिनुहोस्