काठमाडौँ — हाल देशका विभिन्न प्रदेशमा मनसुनी वायुको प्रभाव सक्रिय रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। कोशी, मधेस, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका केही भूभागमा मनसुनी वायुको असर देखिएको छ भने देशको पश्चिमी भूभागमा पश्चिमी वायु र स्थानीय वायुको आंशिक प्रभाव रहेको जनाइएको छ। साथै भारतको पश्चिम बङ्गाल आसपासको क्षेत्रमा बनेको न्यूनचापीय प्रणालीको पनि देशमा आंशिक प्रभाव परेको छ।
यस प्रणालीको असरले देशभर आंशिकदेखि सामान्य बदलीको अवस्था देखिएको छ। कोशी, मधेस र बागमती प्रदेशका केही स्थानहरूमा तथा अन्य प्रदेशका एक–दुई स्थानमा चट्याङसहित हल्कादेखि मध्यम वर्षा भइरहेको छ। आज दिउँसो पनि यस्तै बदलीको अवस्था रहने अनुमान गरिएको छ। विशेषगरी देशका पहाडी क्षेत्रका केही स्थानहरूमा र बाँकी भूभागका थोरै ठाउँहरूमा चट्याङसहित हल्कादेखि मध्यम वर्षा हुन सक्नेछ। साथै कोशी, बागमती र गण्डकी प्रदेशका एक–दुई स्थानहरूमा भारी वर्षाको सम्भावना रहेको छ।
देशका उच्च पहाडी र हिमाली भेगका केही स्थानहरूमा हल्का वर्षासहित हिमपात पनि हुन सक्ने देखिएको छ। कोशी र मधेस प्रदेशका तराई भूभागमा केही स्थानहरूमा हुरी चल्ने सम्भावना समेत रहेको महाशाखाले जनाएको छ। आज राति पनि देशभर आंशिकदेखि सामान्य बदली रहनेछ। देशका पहाडी क्षेत्रका केही स्थानहरूमा तथा बाँकी भूभागका थोरै स्थानहरूमा चट्याङसहित हल्कादेखि मध्यम वर्षा हुने सम्भावना रहेको छ। कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका एक–दुई स्थानहरूमा भारी वर्षा हुन सक्ने भएकाले महाशाखाले सतर्कता अपनाउन आग्रह गरेको छ। यस्तो मौसमका कारण जनजीवन, कृषि, स्वास्थ्य, सडक तथा हवाई यातायातमा असर पर्न सक्ने भएकाले आवश्यक सावधानी अपनाउन अनुरोध गरिएको छ।











प्रतिक्रिया दिनुहोस्