images
images

मनसुन सक्रिय: आज अधिकांश स्थानमा हल्कादेखि भारी वर्षा हुने सम्भावना

ल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाले आज (असार ३, मंगलबार) देशभर विभिन्न स्थानमा मेघगर्जन र चट्याङसहित वर्षा हुने सम्भावना रहेको जनाएको छ। महाशाखाले बिहान ६ बजे जारी गरेको संक्षिप्त बुलेटिनअनुसार दिउँसो देशका सबै प्रदेशका केही स्थानहरूमा हल्कादेखि मध्यम खालको वर्षा हुने सम्भावना छ। साथै, कोसी, बागमती र गण्डकी प्रदेशका एक-दुई स्थानहरूमा भारीदेखि धेरै भारी वर्षा हुनसक्ने सम्भावना पनि रहेको छ। यी प्रदेशका उच्च पहाडी तथा हिमाली भूभागमा थोरै स्थानहरूमा र अन्य उच्च क्षेत्रहरूका एक-दुई स्थानहरूमा हल्का वर्षा वा हिमपातको सम्भावना पनि देखिएको छ।

आज रातिको अवस्थाबारे पनि महाशाखाले जानकारी दिँदै कोसी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका केही स्थानहरूमा र अन्य प्रदेशका थोरै स्थानहरूमा मेघगर्जनसहित हल्कादेखि मध्यम वर्षा हुने बताएको छ। कोसी, गण्डकी र लुम्बिनी प्रदेशका एक-दुई स्थानहरूमा भारीदेखि धेरै भारी वर्षा हुनसक्ने छ भने उच्च पहाडी तथा हिमाली क्षेत्रहरूमा पनि हल्का वर्षा वा हिमपातको सम्भावना कायम छ।

मौसमविद्का अनुसार २४ घण्टामा १० मिलिमिटरभन्दा कम पानी परे हल्का वर्षा, १० देखि ५० मिलिमिटरसम्म परे मध्यम वर्षा, ५० देखि १०० मिलिमिटरसम्म परे भारी वर्षा, १०० देखि २०० मिलिमिटरसम्म परे धेरै भारी वर्षा र २०० मिलिमिटरभन्दा बढी परे अति भारी वर्षा मानिन्छ। ‘एक-दुई स्थान’ भन्नाले सम्बन्धित प्रदेशको १० प्रतिशतभन्दा कम क्षेत्रफलमा वर्षा हुने सम्भावना बुझिन्छ। ‘थोरै स्थान’ भन्नाले १० देखि ३० प्रतिशत क्षेत्र, ‘केही स्थान’ भन्नाले ३० देखि ५० प्रतिशत क्षेत्र, ‘धेरै स्थान’ भन्नाले ५० देखि ८० प्रतिशत क्षेत्र र ‘अधिकांश स्थान’ भन्नाले ८० प्रतिशतभन्दा बढी क्षेत्रमा वर्षा हुने सम्भावना जनाइन्छ। हाल मनसुन कोसी, मधेस, बागमती, गण्डकी प्रदेशका केही भाग तथा लुम्बिनी प्रदेशको पूर्वी क्षेत्रका थोरै भागमा फैलिएको छ भने बाँकी स्थानहरूमा पश्चिमी वायु तथा स्थानीय वायुकै प्रभाव रहेको छ।

प्रतिक्रिया दिनुहोस्