देशमा सक्रिय मनसुनी प्रणालीको प्रभावसहित स्थानीय र पश्चिमी वायुले मिलेर मौसममा परिवर्तन ल्याएको छ। हाल कोशी, मधेस, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका केही भू-भागहरूमा मनसुनी वायुको असर देखिएको छ भने देशको पश्चिमी भू-भागमा पश्चिमी वायु तथा स्थानीय वायुको आंशिक प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जानकारी दिएको छ।
आज देशभर आंशिकदेखि सामान्य बदली मौसम रहने अनुमान गरिएको छ। कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका केही स्थानहरू तथा अन्य प्रदेशका थोरै स्थानहरूमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षा हुने सम्भावना रहेको छ। यस्तै, कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका एक–दुई स्थानमा भारीदेखि धेरै भारी वर्षा पनि हुन सक्ने सम्भावना रहेको छ। कोशी, बागमती र गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली भू-भागका थोरै स्थानहरूमा र बाँकी प्रदेशका उच्च पहाडी तथा हिमाली क्षेत्रमा एक–दुई स्थानमा हल्का वर्षासँगै हिमपातको सम्भावना पनि महाशाखाले जनाएको छ।
रातिको समय पनि देशभर आंशिकदेखि सामान्य बदली रहनेछ। कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका केही स्थानहरूमा र अन्य प्रदेशका थोरै स्थानहरूमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षा हुन सक्ने अनुमान गरिएको छ। यस्तै, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका एक–दुई स्थानमा भारीदेखि धेरै भारी वर्षाको सम्भावना रहेको छ। उच्च पहाडी तथा हिमाली भूभागमा वर्षासँगै हिमपातको सम्भावना रहेकाले सतर्क रहन मौसम पूर्वानुमान महाशाखाले आग्रह गरेको छ।













प्रतिक्रिया दिनुहोस्