images
images

काठमाडौंसहित पहाडी भूभागमा वर्षा, देशभर आंशिक बदली

काठमाडौँ, १ असार — हाल देशका विभिन्न भागमा मौसमी प्रणालीहरूको प्रभाव देखिएको छ। कोशी, मधेस, बागमती, गण्डकी प्रदेशका केही क्षेत्र तथा लुम्बिनी प्रदेशको पूर्वी भागमा मनसुन सक्रिय रहेको जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। देशको पश्चिम भागमा भने पश्चिमी वायु र स्थानीय वायुको आंशिक प्रभाव रहेको छ।

महाशाखाका अनुसार कोशी प्रदेशसहितका पहाडी क्षेत्रहरूमा आंशिकदेखि सामान्य बदली देखिएको छ भने अन्य ठाउँहरूमा मौसम सामान्यतया सफा देखिएको छ। कोशी र बागमती प्रदेशका एक-दुई स्थानमा हल्कादेखि मध्यम वर्षा भइरहेको छ। काठमाडौं उपत्यकामा समेत बिहानैदेखि वर्षा भइरहेको छ।दिउँसोको समयभर देशभर आंशिकदेखि सामान्य बदली रहने अनुमान गरिएको छ। कोशी, मधेस, बागमती र गण्डकी प्रदेशका केही ठाउँहरूमा तथा अन्य क्षेत्रका थोरै भागहरूमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ। कोशी प्रदेशका केही स्थानमा भने भारी वर्षाको जोखिम रहेको जनाइएको छ।

रातिको समयमा पनि यस्तै मौसमी अवस्था कायम रहनेछ। सबै प्रदेशका केही ठाउँमा चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ भने कोशी, मधेस, बागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका एक-दुई स्थानमा भारीदेखि अति भारी वर्षा हुन सक्ने महाशाखाले चेतावनी दिएको छ।

प्रतिक्रिया दिनुहोस्