कोसी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले बजेटको स्रोत खुम्चिँदै गएकाले बजेटको आकार वर्षेनि घटिरहेको बताएका छन्। शनिबार झापाको गौरदह क्याम्पसमा आयोजित कार्यक्रममा बोल्दै मुख्यमन्त्री कार्कीले आर्थिक वर्ष २०७५/०७६ मा ४६ अर्ब रुपैयाँको बजेट ल्याइएको भए पनि आगामी आर्थिक वर्ष २०८२/८३ को बजेट ३६ देखि ३७ अर्बबीच सीमित हुने जानकारी दिए।
उनका अनुसार संघीय सरकारले केही स्रोत रोकेको र केहीमा अधिकार प्रत्यायोजन गर्न कानुनी प्रक्रिया अधुरो रहेकाले बजेट संकलनमा चुनौती थपिएको छ। “हामीले तानतुन गरेर ३७ अर्बको बजेट बनाउन लागेका छौँ, तर वास्तविक स्रोतको अवस्था हेर्दा अहिले जम्मा ३३ अर्ब जति मात्र उपलब्ध छ,” उनले भने। मुख्यमन्त्रीले बजेट तयारी अन्तिम चरणमा पुगेको र असार १ गते दिउँसो ३ बजे प्रदेशसभा बैठकमा बजेट प्रस्तुत गरिने जानकारी दिए। उनले स्रोत व्यवस्थापनमा संघीय सरकारको सहकार्य आवश्यक रहेको स्पष्ट पार्दै, केन्द्रबाट कतिपय स्रोत रोकिएको र केही अधिकार अझै प्रदान नभएको उल्लेख गरे।
आगामी बजेटले शिक्षा, पूर्वाधार र सामाजिक क्षेत्रलाई प्राथमिकता दिने तयारी भइरहेको बताउँदै, सीमित स्रोतका कारण चाहनाअनुसारको बजेट ल्याउन कठिनाइ भएको उनको भनाइ थियो। कार्यक्रममा गौरदह क्याम्पसको योगदानको चर्चा गर्दै मुख्यमन्त्री कार्कीले क्याम्पसको स्तरोन्नति र भौतिक पूर्वाधार निर्माणमा प्रदेश सरकारले सहयोग गर्ने प्रतिबद्धता पनि व्यक्त गरे।











प्रतिक्रिया दिनुहोस्