images
images

गृहमन्त्रीको आरोप : रास्वपा कार्यालय झूटा पीडित तयार गर्ने थलो बन्दै

काठमाडौं — गृहमन्त्री रमेश लेखकले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)माथि गम्भीर आरोप लगाउँदै उक्त पार्टीको कार्यालय ‘किर्ते र जालसाँजीपूर्ण पीडित उत्पादन गर्ने केन्द्र’मा परिणत हुँदै गएको बताएका छन्। शुक्रबार बसेको प्रतिनिधि सभाको बैठकमा भाग लिँदै उनले रास्वपाका केही नेताहरूले नियोजित ढंगले झुठा उजुरी तयार पारेर आफ्नो चरित्र हत्या गर्ने प्रयास गरिरहेको दाबी गरे।

गृहमन्त्री लेखकले स्पष्ट रूपमा उल्लेख गरे, “पार्टीका कार्यालयहरूमा तथाकथित नक्कली पीडितहरू बोलाएर, उनीहरूबाट जाहेरी लेखाएर मविरुद्ध उजुरी दर्ता गर्ने अभियान चलाइएको छ। कुन पार्टीको कुन कार्यालयबाट यस्तो कार्य भइरहेको छ भन्ने बारे म पूर्ण रूपमा जानकार छु।” उनले यस्ता कार्यहरूलाई ‘अमर्यादित र गैरजिम्मेवार’ करार गर्दै ती क्रियाकलापहरूले देशको राजनीतिक संस्कारलाई नै दूषित बनाउने चेतावनी पनि दिए। “किर्ते र जालसाँजीपूर्ण काम गरेर राजनीतिक अभिष्ट हासिल गर्ने प्रवृत्तिले लोकतान्त्रिक प्रणालीलाई नै कमजोर बनाउँछ,” मन्त्री लेखकले भने।

साथै, उनले यस्ता कार्यमा संलग्न हुनेहरूलाई कानुनी कारबाहीको चेतावनी पनि दिएका छन्। “नक्कली पीडित खडा गर्ने, झूटा उजुरी लेखाउने, र पार्टी कार्यालयलाई दुरुपयोग गर्ने जो कोहीलाई कारबाही गरिनेछ,” उनले कड्किँदै भने। उनले रास्वपाका नेताहरूप्रति संकेत गर्दै थपे, “तपाईंहरू सम्भावना बोकेका युवा नेताहरू हुनुहुन्छ। यस्तो गैरजिम्मेवार कार्यबाट टाढा बस्नुहोस्। सत्य र विवेकमा आधारित राजनीतिमा लाग्नुहोस्, किर्ते र जालसाँजबाट होइन।”

यता रास्वपाले भने मन्त्री लेखकको अभिव्यक्तिलाई ‘आरोपको राजनीति’ को संज्ञा दिँदै अस्वीकार गरेको छ। पार्टी स्रोतका अनुसार, गृहमन्त्रीले उठाएका मुद्दाहरूको सत्यता पुष्टि नभएको र उहाँ स्वयंमाथि लागेका आरोपबाट ध्यान अन्यत्र मोड्न यस्तो अभिव्यक्ति दिएको आरोप लगाइएको छ। रास्वपाले मन्त्री लेखकको राजीनामाको माग गर्दै संसद् अवरुद्ध गरिरहेको बेला गृहमन्त्रीको यो आरोपले थप राजनीतिक तनाव सिर्जना गरेको छ।

प्रतिक्रिया दिनुहोस्