चैत १५ गते काठमाडौंको तीनकुनेमा भएको हिंसात्मक घटनासम्बन्धी मुद्दामा जिल्ला अदालत काठमाडौंले दुर्गा प्रसाईंसहित सात जनालाई पुर्पक्षका लागि थुनामा राख्न आदेश दिएको छ। जिल्ला अदालत काठमाडौंका न्यायाधीश ध्रुवराज कार्कीको इजलासले शुक्रबार उक्त आदेश जारी गरेपछि प्रसाईंसहित सात जनालाई डिल्लीबजार कारागार चलान गरिएको हो। काठमाडौं जिल्ला प्रहरी परिसरका एसपी अपिलराज बोहराका अनुसार उनीहरूलाई मध्यराति नै कारागार पठाइएको थियो।
तीनकुने घटनाका मुख्य योजनाकारको रूपमा चिनिएका दुर्गा प्रसाईं, घरमा आगो लगाएको आरोप लागेका गोकर्ण शाही, सरोज गौतम, डण्डपाणी रेग्मी, सिसिटिभी फुटेजमा तोडफोड गरेको आरोप लागेका केशव बस्नेत, जडिबुटी प्रशोधन केन्द्रमा आगजनी र करिडोरमा गाडीमा तोडफोड तथा आगजनी गरेका आरोपितहरूलाई थुनामा राख्ने आदेश दिइएको हो।
यसै घटनासम्बन्धमा पक्राउ परेका अन्य ३२ जनालाई भने अदालतले धरौटीमा पुर्पक्षमा राख्न आदेश दिएको छ।’राजसंस्था पुनर्स्थापना’ लगायतका एजेन्डा अघि सार्दै ‘संयुक्त जनआन्दोलन समिति’ को तर्फबाट घोषित ‘जनकमाण्डर’ दुर्गा प्रसाईंको आह्वानमा चैत १५ गते तीनकुनेमा प्रदर्शन भएको थियो। प्रदर्शन हिंसात्मक बन्दै जाँदा आगजनी, तोडफोड र झडपका घटनाहरू भए, जसमा दुई जनाको मृत्यु समेत भएको थियो।











प्रतिक्रिया दिनुहोस्