काठमाडौँ, जेठ १३ — प्रतिनिधिसभा बैठकमा जारी अवरोध अन्त्य गर्ने विषयमा प्रमुख प्रतिपक्षी दल नेकपा (माओवादी केन्द्र) सकारात्मक देखिएको छ। भिजिट भिसा प्रकरणका कारण रोकिएको सदन पुनः सञ्चालनको पहलस्वरूप बिहीबार सभामुख देवराज घिमिरेसँग माओवादी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र प्रमुख सचेतक हितराज पाण्डेले भेट गरेका थिए।
सभामुखका प्रेस संयोजक शेखर अधिकारीका अनुसार प्रचण्डले सदन खोल्ने विषयमा सकारात्मक धारणा राखेका छन्। “उहाँले सबै प्रतिपक्षी दलहरूसँग सहमतिका लागि छलफल गर्ने र त्यसपछि सत्तापक्षसँग बैठक गरेर सहमति जुटाउने बताउनुभएको छ,” अधिकारीले जानकारी दिए। सभामुख घिमिरेले बजेटमाथिको सैद्धान्तिक छलफल स्थगित भएको, साथै निजामती र नागरिकता सम्बन्धी महत्त्वपूर्ण विधेयकहरू पारित गर्न आवश्यक भएको भन्दै अवरोध अन्त्यको लागि सहकार्यको आग्रह गरेका थिए।
नयाँ बानेश्वरस्थित संसद् भवनमा भएको उक्त छलफलमा उपसभामुख इन्दिरा रानामगर पनि सहभागी थिइन्। प्रतिनिधिसभा गत जेठ १३ गतेदेखि अवरुद्ध छ। त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको अध्यागमन कार्यालयमा भिजिट भिसासम्बन्धी सेटिङ भएको आरोपमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले अध्यागमन प्रमुख तिर्थराज भट्टराईलाई नियन्त्रणमा लिएपछि प्रतिपक्षले विरोधस्वरूप सदन अवरुद्ध गर्दै आएको हो।
प्रतिपक्षीहरूले गृहमन्त्री रमेश लेखकको राजीनामासँगै घटनाको छानबिनका लागि संसदीय समिति वा न्यायिक आयोग गठनको माग गरेका छन्। तर, सत्तापक्षले अख्तियारले अनुसन्धान गरिरहेको विषयमा थप समिति आवश्यक नरहेको र गृहमन्त्री अनुसन्धानको दायरामा नरहेकाले राजीनामाको आवश्यकता नभएको तर्क गर्दै आएको छ।











प्रतिक्रिया दिनुहोस्