काठमाडौँ महानगरपालिकाका पूर्वप्रमुख प्रशासकीय अधिकृत तथा हाल सूचना तथा प्रसारण विभागका महानिर्देशक प्रदीप परियारसहित सात जनाविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरेको छ।
सामाखुसी कोरिडोरअन्तर्गत बसुन्धरादेखि म्हेपीसम्मको ढल निर्माण कार्यमा ठेक्का प्रक्रिया र कार्यान्वयनमा अनियमितता भएको आरोपमा अख्तियारले उनीहरूविरुद्ध ४ करोड ३१ लाख ७२ हजार २८७ रुपैयाँ बराबरको बिगो माग गर्दै मुद्दा दायर गरेको हो। मुद्दामा परियारसँगै काठमाडौँ महानगरपालिकाका निर्देशक रवीनमान श्रेष्ठ, शिवराज अधिकारी, वसन्त आचार्य, नमराज ढकाल, सहायक निर्देशक उत्तम दाहाल र इन्जिनियर जनार्दन गिरीलाई पनि प्रतिवादी बनाइएको छ।
त्यस्तै, निर्माण कार्यमा संलग्न कल्पवृक्ष-कोहिनूर जेभी र समानान्तर निर्माण सेवा प्रालिको संलग्नतामा समेत अख्तियारले दोष देखाएको छ। आयोगले प्रतिवादीहरूले आ-आफ्नो पदको दुरुपयोग गरी सार्वजनिक सम्पत्तिमा बदनियतपूर्वक हानिनोक्सानी पुर्याएको ठहर गरेको छ।










प्रतिक्रिया दिनुहोस्