बागलुङ- इमेज बचत तथा ऋण सहकारी संस्थाका अध्यक्ष तथा ढोरपाटन नगरपालिकाका प्रमुख देवकुमार नेपाली सहकारी ठगी आरोपमा थुनामा रहेका बेला उनका दुई घर लिलाम बिक्री भएको छ। यस घटनापछि पीडित बचतकर्ताले तीव्र विरोध जनाएका छन्।
बागलुङ नगरपालिका–२ स्थित हल्लनचोकका तीन कित्ता (नं. ४५७, ४५८, ४५९) मा रहेको ठूलो घर र कित्ता नं. ८८७ मा रहेको सानो घर राष्ट्रिय सहकारी बैंकले लिलाम गरेको हो। यी सम्पत्ति रामबहादुर र गोमा क्षेत्रीले खरिद गरेका छन्।
बचतकर्ताहरूको आरोप छ कि नेपालीले पहिले सम्पत्ति बिक्री गरी रकम फिर्ता गर्ने आश्वासन दिएका थिए, तर बैंकसँग मिलेमतोमा सम्पत्ति सस्तोमा बिक्री गरिएको छ। सहकारी पीडित संघर्ष समितिका संयोजक डिलबहादुर कार्कीका अनुसार झन्डै ५० करोड मूल्यको सम्पत्ति २१ करोडमा बिक्री गरिएको हो।
बैंकका प्रबन्धक अर्जुन श्रेष्ठले भने सार्वजनिक सूचना जारी गरेर राष्ट्र बैंकको नियमअनुसार सम्पत्ति लिलाम गरिएको बताए। तर पीडितहरू भने जानकारी नदिई प्रक्रिया अघि बढाइएको दाबी गर्दै आइतबार र सोमबार बैंकमा तालाबन्दी र धर्ना गरेका थिए।
मालपोत कार्यालय बागलुङका प्रमुख देवेन्द्र थापाका अनुसार धितो राखिएको सम्पत्ति बिक्री गर्न ऋणीको सहमति आवश्यक नपर्ने हुँदा प्रक्रिया कानुनी रूपमा सम्पन्न भएको हो।
नेपाली २०८० जेठ ४ गतेदेखि फरार थिए र २०८१ असोजमा भारतको नयाँदिल्लीबाट पक्राउ परेपछि बागलुङ जिल्ला अदालतमा हाजिर गराइएको थियो। उनीमाथि इमेज सहकारीमा १ अर्ब ५४ करोड रुपैयाँ हिनामिना गरेको आरोप छ। यसबाहेक उनले विभिन्न बैंकबाट ३५ करोड ऋण लिएको पनि खुलेको छ।
हालसम्म १ हजार ५४३ पीडितमध्ये १ हजारभन्दा बढीले मेलमिलापमा गएर मुद्दा फिर्ता लिएका छन्। थुनामा रहेका बेला नेपालीले सम्पत्ति बिक्री गरेर रकम फिर्ता गर्ने प्रतिबद्धता जनाएका थिए। केही पीडितलाई रकम फिर्ता गरिएपछि बागलुङ जिल्ला अदालतले आंशिक मेलमिलापको आदेश दिएको थियो।
सहकारी ठगी मुद्दामा नेपालीसहित १० जनाविरुद्ध मुद्दा दायर गरिएको छ भने अन्य पाँच जना पदाधिकारी पनि हाल थुनामा छन्।














प्रतिक्रिया दिनुहोस्