काठमाडौँ — सत्तारुढ दल नेपाली कांग्रेसले भिजिट भिसा सेटिङ प्रकरणमा संसदीय छानबिन समिति गठन गर्न अस्वीकार गरेपछि राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)सँगको छलफल निष्कर्षविहीन भएर सकिएको छ।
नयाँ बानेश्वरस्थित संसद भवनमा कांग्रेसका उपसभापति पूर्णबहादुर खड्का, नेता ज्ञानेन्द्रबहादुर कार्की र प्रमुख सचेतक श्यामकुमार घिमिरे तथा रास्वपाका उपसभापति डा. स्वर्णिम वाग्ले, नेता शिशिर खनाल र प्रमुख सचेतक सन्तोष परियार सहभागी छलफल निष्कर्षविहीन भएको छ। रास्वपाले प्रतिनिधिसभा बैठकमा जेठ १३ गतेदेखि जारी गतिरोध अन्त्यका लागि कम्तीमा भिजिट भिसा सेटिङ प्रकरणमा संसदीय छानबिन समिति बनाउनुपर्ने माग राखेको थियो। तर कांग्रेसले यस प्रस्ताव अस्वीकार गरेपछि छलफलबाट कुनै सहमति निकाल्न सकेन, रास्वपाका प्रमुख सचेतक सन्तोष परियारले जानकारी दिएका छन्। ‘भिजिट भिसाबारे संसदीय छानबिन समिति बनाउन कांग्रेसले अस्वीकार गर्यो, त्यसपछि सहमति सम्भव भएन,’ परियारले बताए।
भिजिट भिसा प्रकरणमा गृहमन्त्री रमेश लेखकको राजीनामा र छानबिन समिति गठनको माग गर्दै संसदमा प्रतिपक्षी दलहरूले निरन्तर अवरोध गर्दै आएका थिए। त्यसैले कांग्रेसले विभिन्न प्रतिपक्षी दलहरूसँग छलफल गर्दै आएको छ। यो रास्वपासँग गरिएको दोस्रो छलफल हो। यसअघि कांग्रेसले माओवादीसँग पनि छलफल गरेको थियो र अख्तियार दुरुपयोग अनुसन्धान आयोगले जाँच गरिरहेको भन्दै संसदीय छानबिन समिति गठन गर्न नसकिने जवाफ दिएको थियो।
कांग्रेसले अब भिजिट भिसा प्रकरणमा अख्तियारको छानबिनमा सहयोग गर्ने र छानबिन सकिएपछि आवश्यक संरचनागत तथा कानुनी सुधार गर्न समितिसमेत गठन गर्ने प्रस्ताव प्रतिपक्षी दलहरूसँग राखेको छ। तर प्रतिपक्षी दलहरू उक्त प्रस्ताव मान्न तयार भएका छैनन्।










प्रतिक्रिया दिनुहोस्