काठमाडौं, २५ जेठ ,नागढुङ्गा–नौबिसे सडक खण्डमा मर्मत तथा सुधार कार्यका कारण आज सोमबार (जेठ २६) देखि पाँच दिनका लागि दैनिक केही समयका लागि सडक बन्द हुने भएको छ। नागढुङ्गा–मुग्लिङ्ग सडक योजना (पूर्वी खण्ड)ले एक सूचना जारी गर्दै नागढुङ्गा–नौबिसे खण्डमा मर्मत कार्य चलिरहेका कारण ५ दिनसम्म दैनिक साढे ४ घण्टाका लागि सडक पूर्णरूपमा बन्द हुने जानकारी दिएको हो।
सूचना अनुसार, जेठ २६ गतेदेखि ३० गतेसम्म प्रत्येक दिन बिहान १०:३० बजेबाट दिउँसो ३ बजे सम्म सडक बन्द हुनेछ। यस अवधिमा सवारी आवागमन पूर्णरूपमा रोकिने हुँदा यात्रु र सवारी चालकहरूलाई वैकल्पिक मार्ग प्रयोग गर्न आग्रह गरिएको छ। योजना अनुसार मर्मत कार्य अन्तर्गत सडकको स्तरोन्नति, ढल निकास, कटान नियन्त्रण, सडक चौडाइ विस्तार लगायतका कामहरू तीव्र रूपमा सम्पन्न गरिनुपर्ने भएकाले सो अवधिमा भारी तथा हलुका दुबै प्रकारका सवारीसाधनको आवागमन रोक्नुपर्ने आवश्यकता परेको जनाइएको छ।
यसैबीच, यात्रुहरूलाई असुविधा नहोस् भनेर साना तथा मझौला सवारीसाधनका लागि वैकल्पिक मार्ग पनि सुझाइएको छ। वैकल्पिक मार्ग अन्तर्गत सीतापाइला–रामकोट–धार्के सडक तथा सामाखुसी–टोखा–छहरे–त्रिशूली (विदुर)–गल्छी मार्ग प्रयोग गर्न सकिने सूचनामा उल्लेख छ। नागढुङ्गा–नौबिसे सडक खण्ड राजधानी काठमाडौँ प्रवेश गर्ने मुख्य मार्ग भएकाले यस सडकमा दैनिक हजारौं सवारी साधनको चाप रहन्छ। यसरी सडक बन्द हुँदा उपत्यकाबाट बाहिरिने र भित्रिने यातायात प्रभावित हुने अपेक्षा गरिएको छ।
यद्यपि, योजनाले मर्मत कार्य शीघ्र सम्पन्न गरी पुनः यथावत रूपमा सवारी सञ्चालन गर्न सकिने अवस्था बनाउने जनाएको छ। यात्रु तथा सवारी चालकहरूलाई वैकल्पिक व्यवस्था मिलाई आफ्नो यात्रा सुरक्षित र सहज बनाउनु हुन अनुरोध गरिएको छ।










प्रतिक्रिया दिनुहोस्