२५ जेठ, काठमाडौं — देशका विभिन्न भागमा मनसुन र पश्चिमी वायुको प्रभावका कारण मौसममा बदली र वर्षाको सम्भावना देखिएको छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल देशको पश्चिम र मध्य भूभागमा पश्चिमी वायु तथा स्थानीय वायुको प्रभाव सक्रिय रहेको छ भने कोशी प्रदेशमा मनसुनको प्रभाव व्यापक रुपमा फैलिएको छ।
गत जेठ १५ गते रातिदेखि पूर्वी नेपालबाट प्रवेश गरेको मनसुन हाल कोशी प्रदेशका अधिकांश स्थानमा फैलिएको छ। यसको प्रभावले गर्दा अहिले देशको पहाडी भूभागमा आंशिक बदली देखिएको छ भने अन्य भूभागमा मौसम मुख्यतया सफा रहेको छ। आज दिउँसो कोशी र मधेस प्रदेशसहित देशका पहाडी क्षेत्रहरूमा आंशिकदेखि सामान्य बदली रहनेछ। कोशी प्रदेशका केही स्थानहरू र मधेस, बागमती तथा गण्डकी प्रदेशका पहाडी भूभागका एक–दुई स्थानमा चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ। साथै, कोशी, बागमती र गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली भूभागमा एक–दुई स्थानमा हल्का वर्षासँगै हिमपात हुन सक्ने सम्भावना छ।
आज राति पनि कोशी प्रदेशसहित देशका पहाडी क्षेत्रहरूमा आंशिक बदली रहनेछ भने अन्य भागहरूमा मौसम मुख्यतया सफा रहनेछ। कोशी र गण्डकी प्रदेशका पहाडी भागका एक–दुई स्थानमा चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ भने ती क्षेत्रका उच्च पहाडी तथा हिमाली भागमा हल्का वर्षासहित हिमपात हुन सक्छ। कोशी, मधेस, बागमती र गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली भूभागमा सम्भावित मध्यम वर्षाका कारण दैनिक जनजीवन, कृषि, स्वास्थ्य, सडक तथा हवाई यातायातमा प्रभाव पर्न सक्ने भएकाले आवश्यक सतर्कता अपनाउन मौसम विभागले अनुरोध गरेको छ।








प्रतिक्रिया दिनुहोस्