images
images

पतञ्जलि प्रकरणमा नेपालको जवाफ: आरोपहरू निराधार, न्यायमा भरोसा

२४ जेठ, काठमाडौं – पूर्वप्रधानमन्त्री तथा नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले आफूविरुद्ध लगाइएको भ्रष्टाचारको आरोप निराधार भएको दाबी गरेका छन्।मधेश प्रदेश सम्पर्क समिति प्रथम अधिवेशनलाई शुक्रबार सम्बोधन गर्दै नेपालले आफू न्यायिक प्रक्रियाबाट मुक्त हुनेमा दृढ विश्वास रहेको बताएका हुन्। उनले भने, “सबै गलत आरोपका विरुद्ध दृढताका साथ उभिन्छु। मलाई विश्वास छ, न्यायपालिकाले निष्पक्ष न्याय दिनेछ। न्यायको जित हुनेछ, अन्यायको हार हुनेछ।”

पतञ्जलिको जग्गा प्रकरणमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विशेष अदालतमा मुद्दा दायर गरेपछि पहिलोपटक सार्वजनिक रूपमा प्रतिक्रिया दिँदै अध्यक्ष नेपालले आफूले अहिलेसम्म एक पैसा पनि भ्रष्टाचार नगरेको दाबी गरे। “एक पैसा, एक दाम घुस नखाएको मान्छेलाई डराउनु पर्ने कुनै कारण छैन,” उनले भने, “हामी आत्तिनुपर्ने अवस्था छैन। चुनौती आएको छ, त्यसको सामना गर्न तयार छौं। हामी भाग्ने हैन।”

उनले आफूले कुनै पनि काम निजी स्वार्थ वा फाइदाको लागि नगरेको स्पष्ट पारे। “असल मनसायका साथ काम गरिएको छ भने डराउनु पर्ने जरुरी हुँदैन,” अध्यक्ष नेपालको भनाइ छ।अख्तियारले पतञ्जलि योगपीठलाई सस्तो मूल्यमा जग्गा उपलब्ध गराउन भूमिका खेलेको आरोप लगाउँदै नेपालसहित केही उच्चपदस्थ व्यक्तिहरूलाई विशेष अदालतमा मुद्दा दायर गरेको हो।

प्रतिक्रिया दिनुहोस्