काठमाडौं – नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेकपा (एकीकृत समाजवादी) अध्यक्ष तथा पूर्वप्रधानमन्त्री माधवकुमार नेपालविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगद्वारा दायर गरिएको भ्रष्टाचार मुद्दा राजनीतिक प्रतिशोधको संकेत भएको आरोप लगाएका छन्।
शुक्रबार संसद भवन नयाँ बानेश्वर परिसरमा सञ्चारकर्मीहरूसँग कुरा गर्दै अध्यक्ष प्रचण्डले प्रधानमन्त्री केपी शर्मा ओलीतर्फ लक्षित गर्दै यो घटनामा प्रतिशोधको गन्ध आएको टिप्पणी गरेका हुन्। उनले यस विषयमा गम्भीर राजनीतिक प्रश्नहरू उठेको बताउँदै अख्तियारको निष्पक्षता र उद्देश्यप्रति पनि शंका व्यक्त गरे। “प्रधानमन्त्रीज्यूमा अलिकति राजनीतिक प्रतिशोधको गन्ध त आएकै छ,” प्रचण्डले भने, “अख्तियारले समेत कहीँ न कहीँ गम्भीर प्रश्न जन्माएको छ।” उनले ललिता निवास प्रकरणमा विगतमा अख्तियारले आफूले पढेको चिठीमा स्पष्ट रूपमा नीतिगत निर्णय अख्तियारको दायराभित्र नपर्ने उल्लेख गरेको जानकारी दिए। “मैले आफैँले पढेको थिएँ, त्यही अख्तियारको पत्रमा लेखिएको थियो—कुनै नीतिगत निर्णय अख्तियारको क्षेत्राधिकारभित्र पर्दैन,” उनले स्मरण गरे।
तर अहिले त्यही अख्तियारले पूर्वप्रधानमन्त्री माधवकुमार नेपालमाथि नीतिगत निर्णयकै आधारमा मुद्दा चलाउनु राजनीतिक पूर्वाग्रहको संकथन हो भन्ने आशंका बढ्न थालेको उनको भनाइ थियो। “माधवज्यूले गरेको नीतिगत निर्णय नै हो, त्यही कुरामा अख्तियारले फेरि प्रवेश गर्नु, अनुसन्धान गर्नु, मुद्दा चलाउनु आफैँमा विरोधाभासपूर्ण छ,” उनले भने।
प्रचण्डले यस्तो प्रवृत्तिले सिंगो राजनीतिक नेतृत्वलाई छानबिनको सन्देहमा राख्ने परिस्थिति निम्त्याउन सक्ने खतरा रहेको उल्लेख गरे। “यदि नीतिगत निर्णय पनि अख्तियारको छानबिनको दायरामा आउँछ भने देशमा कुनै पनि निर्णय सुरक्षित छैन, कोही पनि सुरक्षित छैन,” उनले चेतावनी दिए। उनले अख्तियारको स्वतन्त्रता र निष्पक्षताप्रति विश्वास जनाउनुपर्ने भए पनि हाल देखिएको कार्यशैलीले सो संस्थामाथि नै गम्भीर प्रश्न खडा भएको बताए। “अख्तियार आफैले जवाफ दिनुपर्ने बेला आएको छ,” प्रचण्डको धारणा थियो।









प्रतिक्रिया दिनुहोस्