काठमाडौं – गृहमन्त्री रमेश लेखकको नाम जोडिएको भिजिट भिसा प्रकरणमा छानबिन प्रक्रिया अघि बढाउने विषयमा सत्तारूढ दल नेपाली कांग्रेस सकारात्मक देखिएको छ। शुक्रबार संसद भवन नयाँ बानेश्वरमा प्रमुख प्रतिपक्षी नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र कांग्रेसका वरिष्ठ नेताहरू पूर्णबहादुर खड्का, ज्ञानेन्द्रबहादुर कार्की तथा प्रमुख सचेतक श्यामकुमार घिमिरेबीच छलफल भएको थियो। छलफलपछि अध्यक्ष प्रचण्डले सञ्चारकर्मीहरूसँग कुरा गर्दै कांग्रेसले छानबिन प्रक्रिया अघि बढाउन सकारात्मक संकेत दिएको जानकारी गराए।
उनका अनुसार छानबिनका लागि न्यायिक समिति बनाउने कि संसदीय समिति बनाउने भन्ने विषय अझै टुंगो लागेको छैन। कांग्रेस नेताहरू अख्तियार दुरुपयोग अनुसन्धान आयोगबाट भइरहेको अनुसन्धानलाई अदालतमा मुद्दा दायर हुने अवस्था नआएसम्म प्रतिक्षा गर्नुपर्ने पक्षमा देखिएका छन्।
प्रचण्डले यदि सरकारबाट छानबिनको सुनिश्चित प्रतिबद्धता प्राप्त भएमा विपक्षी दलहरू संसद अवरोध हटाउन तयार रहेको सत्तापक्षलाई जानकारी गराइएको बताए। कांग्रेस नेता ज्ञानेन्द्रबहादुर कार्कीले पनि प्रमुख प्रतिपक्षसँगको छलफल सकारात्मक रहेको बताए। यद्यपि सहमति अन्तिम चरणमा पुगे पनि औपचारिक टुंगो लाग्न बाँकी रहेको उनले बताए। “संसद् गतिरोध अन्त्य आवश्यक छ भन्नेमा दुवै पक्ष सकारात्मक छौं,” कार्कीले भने, “सहमति भइसकेको छैन, तर सहमतिमा पुग्ने चरणमा छौं।”









प्रतिक्रिया दिनुहोस्