विराटनगर, जेठ २२ – देशभरिका स्थानीय तहका उपप्रमुख तथा उपाध्यक्षहरूको राष्ट्रिय सम्मेलन आजदेखि विराटनगरमा सुरु भएको छ। संघीयतालाई संस्थागत गर्ने उद्देश्यसहित पहिलोपटक आयोजना गरिएको सम्मेलन विराटनगर महानगरपालिकाको पहलमा वीरेन्द्र सभागृहमा भइरहेको हो।
दुई दिनसम्म चल्ने सम्मेलनमा न्यायिक समितिबाट निरुपण हुने विवादहरूलाई प्रभावकारी बनाउने, योजना निर्माण र कार्यान्वयनमा उपप्रमुख तथा उपाध्यक्षको भूमिका स्पष्ट पार्ने लगायतका विषयमा छलफल हुने छ। कार्यक्रमबारे जानकारी दिँदै विराटनगर उपमहानगरपालिकाकी उपप्रमुख शिल्पा निराला कार्कीले संघीयताको अभ्यासमा उपप्रमुखहरूको योगदान थप प्रभावकारी बनाउने प्रयास भइरहेको बताइन्।
सम्मेलनमा विभिन्न स्थानीय तहका २९१ जना उपप्रमुख तथा उपाध्यक्षहरूको सहभागिता रहेको छ। मौसमको प्रभावका कारण केही प्रतिनिधिलाई आइपुग्न समस्या भए पनि धेरैजसो सहभागीहरू विराटनगर आइसकेको महानगरपालिकाले जनाएको छ।कार्यक्रममा तीनवटा कार्यपत्र प्रस्तुत गरिने छ। न्यायिक समितिको भूमिकाबारे काशीराज दाहाल, वित्तीय संघीयता सम्बन्धी डा. गोपी खनाल, र स्थानीय सरकार सञ्चालनमा उपप्रमुखको भूमिकाबारे रमेश अधिकारीले कार्यपत्र प्रस्तुत गर्नेछन्। त्यसपछि प्यानल छलफल र अनुभव आदानप्रदान गरिने छ।
सम्मेलनबाट उपप्रमुख तथा उपाध्यक्षहरूका अनुभवका आधारमा घोषणापत्र तयार गरी संघीय सरकार र प्रदेश सरकारलाई सुझाव दिने योजना पनि छ। सम्मेलनले सेवा प्रवाह, विकास निर्माण र कानुनी अस्पष्टताबारे स्पष्टता ल्याउन योगदान पुर्याउने अपेक्षा गरिएको छ।









प्रतिक्रिया दिनुहोस्