२२ जेठ, काठमाडौं – अमेरिकाले नेपाली नागरिकलाई दिएको टेम्पोररी प्रोटेक्टेड स्टाटस (TPS) सुविधा खारेज गर्ने निर्णय गरेको छ। यो निर्णयसँगै TPS को आधारमा अमेरिका बस्दै आएका करिब ७ हजार नेपालीलाई स्वदेश फर्किनुपर्ने भएको छ।
अमेरिकी डिपार्टमेन्ट अफ होमल्याण्ड सेक्युरिटीले नेपालमा वर्तमान अवस्था मूल्यांकन गर्दै तथा सम्बन्धित निकायहरूसँगको परामर्शपछि TPS खारेज गर्ने निर्णय लिएको अमेरिकी नागरिकता तथा आप्रवासन सेवा (USCIS) को वेबसाइटमा उल्लेख गरिएको छ। जानकारी अनुसार TPS को मान्यता ५ अगस्ट २०२५ को राति ११:५९ बजे अन्त्य हुनेछ। त्यसपछि TPS को आधारमा अमेरिका बस्दै आएका नेपाली नागरिकहरूले अन्य वैधानिक विकल्प नभएको अवस्थामा नेपाल फर्कनुपर्नेछ।
सूचनामा भनिएको छ, “यदि तपाईं TPS स्टाटसमा अमेरिका बसिरहनुभएको छ र यहाँ बस्ने अन्य वैधानिक आधार छैन भने, नेपाल फर्किनको लागि तयार हुनुहोस्।” अमेरिका छाड्ने प्रक्रियालाई सहज बनाउन CBP One मोबाइल एपको प्रयोग गर्न सकिने पनि जानकारी दिइएको छ।
TPS खारेजको प्रक्रिया अघिल्लो राष्ट्रपति डोनाल्ड ट्रम्पको कार्यकालमा पनि अघि बढाइएको थियो। त्यतिबेला पनि नेपाली नागरिकलाई १२ महिनाभित्र फर्कन समय दिइएको थियो। सन् २०१५ मा नेपालमा आएको विनाशकारी भूकम्पपछि अमेरिका सरकारले मानवीय आधारमा नेपालीलाई TPS सुविधा दिएको थियो। त्यसबेला झन्डै १५ हजार नेपालीले यो सुविधा लिएका थिए।
TPS भनेको अमेरिकाको आप्रवासन प्रणालीअन्तर्गत दिइने अस्थायी सुविधा हो। युद्ध, प्राकृतिक विपद् वा मानवीय संकटका कारण प्रभावित मुलुकका नागरिकलाई अस्थायी रूपमा अमेरिका बस्न, काम गर्न र कहिलेकाहीँ यात्रा गर्न अनुमति दिइन्छ। यो सुविधा अमेरिकी नागरिकता तथा आप्रवासन सेवा (USCIS) मार्फत व्यवस्थापन गरिन्छ। TPS प्राप्त गरेका व्यक्तिलाई अमेरिका निष्कासन गरिँदैन र उनीहरूले वैध रूपमा रोजगारी गर्न पाउँछन्, तर यो स्थायी बसोबास अनुमति होइन। सुविधा सकिएपछि वैध आधार नभए सम्बन्धित व्यक्ति अमेरिका बस्न योग्य हुँदैनन्।










प्रतिक्रिया दिनुहोस्