२२ जेठ, काठमाडौं – नेकपा (एकीकृत समाजवादी) ले पार्टी अध्यक्ष माधव कुमार नेपालविरुद्धको अख्तियारको मुद्दालाई ‘योजनाबद्ध षड्यन्त्र’ को संज्ञा दिएको छ। अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पूर्वप्रधानमन्त्री नेपालविरुद्ध मुद्दा दायर गरेपछि, अध्यक्ष नेपालसहित पार्टी शीर्ष नेताहरूको आकस्मिक बैठक बसेको थियो। बैठकपछि उपाध्यक्ष प्रकाश ज्वालाले अध्यक्ष नेपालमाथिको आरोपलाई “गलत, भ्रमपूर्ण र योजनाबद्ध” भएको ठहर गर्दै यसविरुद्ध दृढ प्रतिवाद गर्ने घोषणा गरे।
‘हामी शीर ठाडो पारेर यस्ता षड्यन्त्रको विरोधमा उभिन्छौं,’ ज्वालाले भने, ‘हामी अदालतबाट निर्दोष प्रमाणित भएर फर्कनेछौं र यो राजनीतिक प्रतिशोधको खेल खारेज गर्नेछौं।’ ज्वालाले पार्टी कार्यकर्तालाई भ्रममा नपर्न आग्रह गर्दै विगतमा पनि नेताहरूविरुद्ध षड्यन्त्र र आक्रमण हुँदै आएको स्मरण गराए। ‘आज फेरि अध्यक्ष कमरेडविरुद्ध मुद्दा दायर गरेर अर्को षड्यन्त्र सुरु गरिएको छ,’ उनले भने, ‘हामी यसविरुद्ध सशक्त प्रतिवाद गर्नेछौं।’
उनले अध्यक्ष नेपालले कहिल्यै सार्वजनिक सम्पत्तिको दुरुपयोग नगरेको दाबी गर्दै भने, ‘उहाँले कुनै आर्थिक अनियमितता वा सम्पत्ति दुरुपयोग गर्नुभएको छैन। मुद्दाबाट पछि नहट्ने अडान पार्टीको स्पष्ट छ।’











प्रतिक्रिया दिनुहोस्