काठमाडौं, २१ जेठ — प्रतिनिधिसभाको बैठक फेरि स्थगित गरिएको छ। निर्धारित समयमा बैठक सञ्चालन हुन नसकेपछि अब बैठक आज दिउँसो १ बजेसम्मका लागि सारिएको संसद् सचिवालयले जानकारी दिएको छ।
बुधबार १ बजेका लागि प्रतिनिधिसभा बैठक तोकिएको थियो। तर, प्रमुख विपक्षी दल नेपाली कांग्रेससहितका दलहरूले गृहमन्त्री रमेश लेखकको राजीनामाको माग राख्दै संसद् अवरोध गर्ने अडान नछाडेपछि बैठक सुरु नै हुन सकेन। बैठकको गतिरोध अन्त्यका लागि सभामुख देवराज घिमिरेले बुधबार प्रमुख दलकारुका प्रमुख सचेतकहरुसँग छलफल गरेका थिए । तर,छलफल निष्कर्षविहीन भएको थियो ।
विपक्षी दलहरू पछिल्लो समय भिजिट भिसाका नाममा मानव तस्करीको आरोपमा गृहमन्त्रीको संलग्नताबारे गम्भीर प्रश्न उठाउँदै आएका छन्। उनीहरूले गृहमन्त्रीको नैतिक जिम्मेवारीको आधारमा राजीनामा माग गर्दै आएका छन्। सो माग पुरा नभएसम्म संसद् चल्न नदिने रणनीतिमा विपक्षी दलहरू उभिएका छन्।
सरकारले गृहमन्त्रीमाथिको आरोप निराधार भएको बताउँदै संसद् अवरोध नगर्न विपक्षी दलहरूलाई आग्रह गरे पनि सहमति जुट्न सकेको छैन। यही विवादका कारण बुधबारको बैठक पनि अवरुद्ध भयो।
संसद अवरुद्ध भइरहेकाले चालु आर्थिक वर्षको अन्त्यतिर प्रस्तुत गरिएको बजेट प्रस्तावमाथिको छलफल समेत प्रभावित भइरहेको छ। आर्थिक वर्ष २०८२/८३ को बजेट सार्वजनिक भइसकेको भए पनि त्यसमाथि आवश्यक छलफल र संसदीय प्रक्रिया अघि बढ्न सकेको छैन।
संसद सचिवालयका अनुसार अब प्रतिनिधिसभाको बैठक आज दिउँसो १ बजे पुनः बस्नेछ। तर, विपक्षी दलहरूले आफ्नो अडान नछाडे बैठक फेरि अवरुद्ध हुने सम्भावना रहन्छ।










प्रतिक्रिया दिनुहोस्